काठमाडौं । आज (कात्तिक १६) देखि सरकारी कार्यालयको समय एक घण्टा घटेको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्। यो व्यवस्था आगामी माघ १५ गतेसम्म लागू हुनेछ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय सातामा पाँच दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्दै आएका थिए।
हिउँदमा दिन छोटो हुने र अपराह्न ५ बज्दासम्म साँझ परिसक्ने भएकाले जाडोयाममा कार्यालय समय घटाइएको हो। नयाँ व्यवस्थासँगै सरकारी कार्यालयको दैनिक कार्यसमय सात घण्टामा सीमित हुनेछ।
यसअघि गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई ध्यानमा राख्दै सुरु गरिएको दुई दिने बिदाको व्यवस्थालाई सरकारले निरन्तरता दिँदै आएको छ।
नयाँ समयतालिकाअनुसार अब सरकारी कार्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नभई सातामा पाँच दिन मात्रै सञ्चालन हुनेछन्। शनिबार र आइतबार सार्वजनिक बिदा कायम रहने व्यवस्थाअनुसार कार्यालयहरू सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुल्नेछन्।