काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन्। उनलाई जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा लगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए। राष्ट्रपति पौडेलको जापान भ्रमण नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा केन्द्रित रहेको छ। भ्रमणका क्रममा उनले सो अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसैगरी, राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। साथै, उनले जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी तथा क्षेत्रीय चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।