काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले आगामी पाँच दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशसहित विभिन्न स्थानमा बादल देखिएको छ भने तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा बिहान हुस्सु तथा कुहिरो लागेको छ ।
महाशाखाले बुधबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा आंशिक बदली रहने जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
बिहीबार देशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
शुक्रबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । शुक्रबार राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ । यी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
शनिबार र आइतबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा अन्य प्रदेशका हिमाली र देशका विभिन्न पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यस्तै, आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
महाशाखाले पाँचै दिन तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।