काठमाडौं । उत्तर भारत र पाकिस्तानका विभिन्न क्षेत्रमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । मंगलबार भारतको राजधानी दिल्ली र पाकिस्तानको लाहोरमा वायु गुणस्तर निकै खराब अवस्थामा पुगेको हो ।
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ३३२ पुगेको छ । यो ‘अति खराब’ श्रेणीमा पर्छ ।
त्यस्तै, आईक्यूएयरका अनुसार पाकिस्तानको लाहोरमा एक्यूआई ४४७ पुगेको छ । त्यहाँ हावामा रहेको पीएम २.५ सूक्ष्म कणको मात्रा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तोकेको मापदण्डभन्दा ६० गुणा बढी रहेको छ ।
वर्षको यस समयमा उत्तर भारत र पाकिस्तानका केही क्षेत्रमा वायु प्रदूषण गम्भीर बन्ने गरेको छ । सवारीसाधनबाट निस्कने धुवाँ, निर्माण गतिविधि तथा खेतमा पराल जलाउँदा उत्पन्न हुने प्रदूषक चिसो र स्थिर हावामा जम्मा हुँदा धुवाँ र तुवाँलोको मिश्रण अर्थात् स्मग बन्ने गर्छ ।
यसले वायु प्रदूषणको स्तर बढाउनुका साथै स्थानीय बासिन्दामा श्वासप्रश्वाससम्बन्धी समस्या र अन्य स्वास्थ्य जोखिम निम्त्याउने गरेको छ ।
दिल्लीमा प्रदूषण नियन्त्रणका लागि प्रदूषण फैलाउने सवारीसाधनको आवागमन र निर्माण गतिविधिमा प्रतिबन्धलगायतका उपाय लागू गरिएका छन् । तर, नोभेम्बर ८ मा मनाइने दीपावलीका क्रममा पटका पड्काउँदा प्रदूषण थप बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
भारतको सर्वोच्च अदालतले दीपावलीमा कम प्रदूषण गर्ने पटका मात्र पड्काउन अनुमति दिएको छ । यद्यपि, सञ्चारमाध्यममा प्रकाशित एक रिपोर्टअनुसार बजारमा भने विभिन्न प्रकारका पटका बिक्री भइरहेका छन् ।
दीपावलीका क्रममा पटका पड्काउने गतिविधि बढेमा दिल्लीसहित उत्तर भारतका विभिन्न क्षेत्रमा वायु प्रदूषण थप गम्भीर बन्न सक्ने आकलन गरिएको छ ।