फ्रान्समा महँगी र न्यून तलबविरुद्ध सडकमा उत्रिए ५ लाख ७५ हजार नागरिक, म्याक्रोँको राजीनामा माग

१ हप्ता अगाडि
फ्रान्समा महँगी र न्यून तलबविरुद्ध सडकमा उत्रिए ५ लाख ७५ हजार नागरिक, म्याक्रोँको राजीनामा माग

काठमाडौं । बढ्दो महँगी, न्यून पारिश्रमिक र सार्वजनिक सेवामा सरकारी खर्च कटौतीको विरोधमा फ्रान्समा एकैदिन झन्डै ६ लाख मानिस सडकमा उत्रिएका छन् ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार बिहीबार देशभर भएका प्रदर्शनमा ५ लाख ७५ हजार मानिस सहभागी भएका थिए । गत सेप्टेम्बरदेखि सुरु भएको आन्दोलनयता एकैदिन भएको यो सबैभन्दा ठूलो प्रदर्शन हो ।

प्रदर्शनमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, यातायात मजदुर, सरकारी कर्मचारी तथा विभिन्न ट्रेड युनियनका सदस्य सहभागी भएका थिए । प्रदर्शनसँगै विभिन्न क्षेत्रका कर्मचारीले देशव्यापी हडतालसमेत गरेका थिए ।

तर, प्रदर्शनको आयोजना गरेको प्रमुख ट्रेड युनियन सिजिटीले भने देशभर १६ लाख मानिस सडकमा उत्रिएको दाबी गरेको छ । राजधानी पेरिसमा मात्रै ६० हजार प्रदर्शनकारी सहभागी भएको गृह मन्त्रालयको अनुमान छ ।

प्रदर्शनकारीले दैनिक जीवनयापनको बढ्दो खर्च नियन्त्रण, तलब तथा पेन्सन वृद्धि, सार्वजनिक सेवामा लगानी र आर्थिक असमानता न्यूनीकरण गर्नुपर्ने माग राखेका छन् ।

फ्रान्सका प्रमुख ट्रेड युनियनमध्ये एक सिजिटीले न्यूनतम पारिश्रमिक तत्काल १० प्रतिशत वृद्धि गर्न माग गरेको छ । अर्को ट्रेड युनियन सिएफडिटीले न्यूनतम मासिक तलबमा १०० युरो थप गर्नुपर्ने माग अघि सारेको छ ।

विद्यार्थीहरूले पनि शिक्षा क्षेत्रमा बजेट वृद्धि, विद्यालयको भौतिक पूर्वाधार सुधार र विश्वविद्यालयमा थप २ लाख ५० हजार विद्यार्थी भर्ना गर्न सक्ने व्यवस्था गर्न माग गरेका छन् ।

विद्यालयमा कमजोर पूर्वाधार र कक्षाकोठामा विद्यार्थीको चाप बढेको भन्दै सुरु भएको विद्यार्थी आन्दोलनमा पछि ट्रेड युनियन र सन् २०१८ मा फ्रान्समा सुरु भएको ‘यल्लो भेस्ट’ आन्दोलनका समर्थकसमेत जोडिएका थिए । त्यसपछि आन्दोलनले देशव्यापी स्वरूप लिएको हो ।

प्रदर्शनकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उनको सरकारको राजीनामासमेत माग गरेका छन् । आर्थिक असमानता, महँगी र सरकारी खर्च कटौतीको विरोधमा चर्किएको आन्दोलनले फ्रान्सको राजनीतिक नेतृत्वमाथि दबाब बढाएको छ ।

प्रदर्शनका क्रममा केही सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । फ्रान्सको गृह मन्त्रालयका अनुसार प्रहरीले ४४८ जनालाई नियन्त्रणमा लिएको छ भने झडपमा ५३ प्रहरी घाइते भएका छन् ।

लियोँमा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । रेनेसमा प्रदर्शनकारीले एउटा होटलमा तोडफोड गर्नुका साथै प्रहरीमाथि वस्तु प्रहार गरेका थिए । त्यस्तै, टुलुज नजिकै एउटा विद्यालयमा आगजनी भएको थियो ।

गृह मन्त्रालयका अनुसार देशभर भएका ८६ वटा आगलागीका घटनामा अग्निनियन्त्रक परिचालन गरिएको थियो । यद्यपि, यसअघिका प्रदर्शनको तुलनामा बिहीबारको आन्दोलनमा ठूलो स्तरको हिंसा भने देखिएन । अक्टोबर १७ मा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यस दिन सरकारी अनुमानअनुसार ५ लाख ५० हजार मानिस सडकमा उत्रिएका थिए ।

देशव्यापी हडतालका कारण विद्यालय, विश्वविद्यालय र रेल सेवा प्रभावित भएका थिए । सरकारका अनुसार विद्यालयका करिब १३ प्रतिशत कर्मचारी हडतालमा सहभागी भएका थिए । सार्वजनिक अस्पतालका करिब ५ प्रतिशत कर्मचारी मात्रै हडतालमा सहभागी भएकाले स्वास्थ्य सेवा भने ठूलो रूपमा प्रभावित भएन ।

प्रदर्शनकारीले आगामी दिनमा पनि आन्दोलन जारी राख्ने बताएका छन् । ‘यल्लो भेस्ट’ आन्दोलनका समर्थकले शुक्रबार र शनिबारसमेत प्रदर्शन गर्ने तयारी गरेका छन् । केही प्रदर्शनकारीले आगामी वसन्त ऋतुमा हुने राष्ट्रपतीय निर्वाचनसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

फ्रान्समा आगामी वर्ष राष्ट्रपतीय निर्वाचन हुँदैछ । वर्तमान राष्ट्रपति म्याक्रोँले लगातार तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन पाउने छैनन् । बढ्दो महँगी, सार्वजनिक ऋण र सरकारी खर्च घटाउने योजनालाई लिएर सरकारमाथि दबाब बढिरहेका बेला देशव्यापी आन्दोलनले फ्रान्सको राजनीतिक चुनौती थप चर्काएको छ ।