सुनको मूल्यमा फेरि ठूलो गिरावट, एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँ घट्यो

१ हप्ता अगाडि
सुनको मूल्यमा फेरि ठूलो गिरावट, एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि ठूलो गिरावट आएको छ । बिहीबार एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार फेरि ५ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको थियो ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ, मंगलबार ७०० रुपैयाँ र सोमबार २ हजार ३०० रुपैयाँले बढेको थियो । त्यसअघि अघिल्लो साताको आइतबार भने सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको थियो । त्यसअघिका लगातार चार दिनमा सुनको मूल्य ५ हजार रुपैयाँले बढेको थियो ।

कात्तिक ८ गते पनि सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा ठूलो उतारचढाव देखिँदै आएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको थियो ।