काठमाडौं । भाषा, संस्कृति, संस्कार र सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताएका छन्।
नेपाल संवत् ११४७ तथा तिहारको अवसरमा शनिबार साँझ काठमाडौंको डल्लु आवास क्षेत्रमा आयोजित भव्य मैनबत्ती र्यालीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

नेपाल भाषा, नेवा संस्कृति र सम्पदा नेपालको मौलिक पहिचान र गौरव भएको उल्लेख गर्दै उनले यसको संरक्षण विगतको विरासत जोगाउने मात्र नभई भावी पुस्ताको सांस्कृतिक पहिचान सुरक्षित गर्ने अभियानसमेत भएको बताए। उनले भाषिक आन्दोलन र सांस्कृतिक अभियानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्पराप्रति जागरुक बनाउनुपर्नेमा जोड दिए।
स्वर्णिम युवा समाजको अगुवाइमा आयोजित र्यालीमा वडा नं. १५ का १२ वटा स्थानीय क्लब, विभिन्न संघसंस्था, महिला तथा युवा समूह र सांस्कृतिक टोलीको सहभागिता थियो।
विगत १६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो परम्परागत मैनबत्ती र्याली यस वर्ष १७औँ संस्करणका रूपमा सञ्चालन गरिएको हो। आयोजकका अनुसार र्याली मनोरञ्जनमा मात्र सीमित नभई मौलिक कला, संस्कृति, सामाजिक एकता र सांस्कृतिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।