काठमाडौं । मौसम परिवर्तनसँगै तापक्रम घट्न थालेपछि चिसो मौसममा देखिने विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ्दै गएको छ । विशेषगरी बाबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगी चिसोको बढी जोखिममा पर्ने चिकित्सकहरूले बताएका छन् । तापक्रम घट्दै जाँदा रुघाखोकी, ज्वरो, मौसमी फ्लु, निमोनिया, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामी बढ्ने सम्भावना हुन्छ ।
सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार चिसो मौसममा देखिने स्वास्थ्य समस्यालाई सामान्य रुघाखोकीका रूपमा मात्र लिनु हुँदैन । सामान्य लक्षणबाट सुरु हुने संक्रमणले पनि कतिपय अवस्थामा गम्भीर रूप लिन सक्छ । विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका तथा पहिलेदेखि नै मुटु, फोक्सो र मिर्गौलासम्बन्धी समस्या भएका व्यक्तिमा संक्रमणको जोखिम बढी हुन्छ ।
“चिसोका कारण रुघाखोकी, ज्वरो, दम, सास फेर्न गाह्रो हुने समस्या र हाइपोथर्मियाजस्ता स्वास्थ्य समस्या देखा पर्न थालेका छन्,” डा. बास्तोलाले भने, “नेपालमा जाडो मौसम बढेसँगै रुघाखोकी, फ्लुजस्ता संक्रमणदेखि निमोनिया र गम्भीर श्वासप्रश्वाससम्बन्धी संक्रमणका बिरामीको संख्यामा तीव्र वृद्धि हुने गरेको छ ।”
उनका अनुसार चिसोको असर सबै उमेर समूहमा देखिए पनि दम तथा फोक्सोका दीर्घकालीन रोग भएका व्यक्तिमा जाडोयाममा स्वास्थ्य जटिलता थपिने जोखिम बढी हुन्छ ।
चिसो मौसममा सबैभन्दा सामान्य रूपमा देखिने समस्या रुघाखोकी र मौसमी फ्लु हो । नाकबाट पानी बग्ने, हाच्छिउँ आउने, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने तथा शरीर दुख्ने यसका प्रमुख लक्षण हुन् । भाइरल तथा ब्याक्टेरियल संक्रमणले फोक्सोमा समेत असर पुर्याउन सक्छ । संक्रमण बढ्दै जाँदा निमोनिया तथा अन्य गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्छन् ।
त्यस्तै, चिसो हावा र वायु प्रदूषणले दम, सीओपीडी तथा अन्य दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिको समस्या थप बल्झाउन सक्छ । घाँटी दुख्ने, टन्सिल सुन्निने र लगातार खोकी लाग्नेजस्ता समस्या पनि देखिन सक्छन् ।
बालबालिकामा भने श्वासप्रश्वाससम्बन्धी संक्रमणसँगै झाडापखाला र बान्ताको समस्या पनि देखिन सक्छ । विशेषगरी रोटाभाइरस तथा नोरोभाइरसको संक्रमणले बालबालिकामा झाडापखाला र बान्ता गराउन सक्छ । समयमै उपचार र पर्याप्त झोल पदार्थ नदिए शरीरमा पानीको कमी हुने जोखिम रहन्छ ।
चिसो मौसममा सुक्खा हावाका कारण छाला सुक्खा हुने, चिलाउने तथा एलर्जीका समस्या पनि बढ्न सक्छन् । अत्यधिक चिसोमा लामो समय बस्दा वा पर्याप्त न्यानो कपडा नलगाउँदा शरीरको तापक्रम असामान्य रूपमा घट्ने हाइपोथर्मियाको जोखिम हुन्छ । यस्तो अवस्था विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा चिसोमा लामो समय काम गर्नुपर्ने व्यक्तिका लागि जोखिमपूर्ण हुन सक्छ ।
को बढी जोखिममा ?
सरुवा रोग विशेषज्ञ डा. बास्तोलाका अनुसार पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दम, मुटु, मिर्गौला र फोक्सोसम्बन्धी दीर्घरोग भएका व्यक्ति चिसो मौसममा बढी जोखिममा हुन्छन् । मधुमेह भएका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा पनि संक्रमणले गम्भीर रूप लिन सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार मौसमी इन्फ्लुएन्जाबाट गम्भीर बिरामी हुने जोखिम पनि बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीमा बढी हुन्छ । त्यसैले यस्ता व्यक्तिले सामान्य लक्षण देखिँदा पनि स्वास्थ्य अवस्थाप्रति विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।
किन बढ्छन् जाडोमा संक्रमण ?
चिसो मौसममा श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिनुको एउटा प्रमुख कारण मानिसको दैनिक व्यवहारमा आउने परिवर्तन हो । जाडो बढेसँगै मानिसहरू झ्यालढोका बन्द गरेर घरभित्रै बढी समय बिताउने गर्छन् । विद्यालय, कार्यालय तथा अन्य भीडभाड हुने स्थानमा पनि मानिसहरू नजिकै बसेर समय बिताउँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्ने सम्भावना बढ्छ ।
संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा श्वास फेर्दा निस्कने सूक्ष्म कणबाट इन्फ्लुएन्जाजस्ता भाइरस फैलिन सक्छन् । त्यस्तै, काठमाडौं उपत्यकाजस्ता सहरी क्षेत्रमा जाडोयाममा वायु प्रदूषण बढ्दा श्वासप्रश्वाससम्बन्धी समस्या थप जटिल बन्न सक्छ । प्रदूषित हावाले फोक्सोमा असर पुर्याउने भएकाले दम तथा फोक्सोका दीर्घरोगीलाई थप समस्या हुन सक्छ ।
निमोनिया र सामान्य रुघाखोकी कसरी छुट्याउने ?
चिसो मौसममा निमोनियाको जोखिम पनि बढ्ने चिकित्सकहरू बताउँछन् । सामान्य रुघाखोकी र निमोनियाका सुरुआती लक्षण मिल्दोजुल्दो हुन सक्ने भएकाले कतिपयले निमोनियालाई सामान्य रुघाखोकी ठानेर बेवास्ता गर्ने सम्भावना हुन्छ । तर लक्षणको गम्भीरता र श्वासप्रश्वासमा देखिने परिवर्तनका आधारमा यी दुई अवस्थाबीच भिन्नता छुट्याउन सकिन्छ ।
सामान्य रुघाखोकी हुँदा नाकबाट पानी बग्ने, हाच्छिउँ आउने, घाँटी दुख्ने, हल्का खोकी लाग्ने र सामान्य ज्वरो आउने गर्छ । यस्ता लक्षण प्रायः केही दिनमा कम हुँदै जान्छन् ।
तर निमोनिया हुँदा उच्च ज्वरो आउने, लगातार खोकी लाग्ने, छाती दुख्ने, छिटोछिटो सास फेर्ने तथा सास फेर्न गाह्रो हुने समस्या देखिन सक्छ । गम्भीर अवस्थामा शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ । बालबालिकामा सास फेर्दा छाती भित्र धस्सिने, दूध वा खाना खान नसक्ने तथा ज्येष्ठ नागरिकमा अत्यधिक कमजोरी, असामान्य व्यवहार वा अलमलिने लक्षण देखिए निमोनियाको आशंका गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।
सामान्य रुघाखोकी आफैँ निको हुन सक्ने भए पनि निमोनियाले गम्भीर रूप लिएमा ज्यानै जोखिममा पर्न सक्छ । त्यसैले सास फेर्न गाह्रो हुने, छाती दुख्ने, अत्यधिक ज्वरो आउने वा बिरामीको अवस्था बिग्रँदै जाने लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउनुपर्छ ।
चिसोबाट बच्न के गर्ने ?
चिकित्सकहरूका अनुसार चिसो मौसममा स्वास्थ्य समस्या र संक्रमणबाट जोगिन व्यक्तिगत सरसफाइ, खानपान र दैनिक व्यवहारमा विशेष ध्यान दिनुपर्छ । मौसमअनुसार न्यानो कपडा लगाउने, साबुनपानीले नियमित हात धुने र भीडभाड भएका स्थानमा मास्क प्रयोग गर्ने गर्नुपर्छ ।
घर तथा कार्यालयका कोठामा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउनु पनि उत्तिकै आवश्यक छ । चिसोबाट जोगिन झ्यालढोका बन्द गरेर लामो समय बस्दा कोठाभित्रको हावा दूषित हुन सक्ने भएकाले सुरक्षित रूपमा हावा आवतजावत गराउनुपर्छ ।
पोषणयुक्त खानेकुरा खाने, पर्याप्त पानी तथा झोल पदार्थ पिउने र शरीरलाई न्यानो राख्ने बानीले पनि स्वास्थ्य समस्या कम गर्न सहयोग गर्छ । जोखिम समूहमा रहेका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार मौसमी इन्फ्लुएन्जाविरुद्धको खोप लगाउन सक्छन् ।
त्यस्तै, सामान्य रुघाखोकीजस्तो लक्षण देखिँदैमा चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक वा अन्य औषधि सेवन गर्नु हुँदैन । भाइरल संक्रमणमा एन्टिबायोटिक प्रभावकारी हुँदैन । लक्षण लामो समयसम्म रहने, ज्वरो बढ्ने वा श्वासप्रश्वासमा समस्या देखिने अवस्थामा स्वास्थ्यकर्मीको परामर्श लिनुपर्छ ।
चिसो मौसम सुरु भएसँगै स्वास्थ्यमा देखिने सामान्य परिवर्तनलाई बेवास्ता नगर्न र विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् । समयमै लक्षण पहिचान, आवश्यक परीक्षण र उपचारले चिसो मौसममा हुन सक्ने गम्भीर स्वास्थ्य जटिलता रोक्न सहयोग पुग्ने उनीहरूको सुझाव छ ।