सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, घोप्टेभीरमा सवारीसाधन रोकिए

५ दिन अगाडि
सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, घोप्टेभीरमा सवारीसाधन रोकिए

काठमाडौं । सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा पहिरो खस्दा आइतबार बिहानदेखि राजमार्गको दुवैतर्फको आवागमन ठप्प भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहान १० बजेदेखि नै सडक पूर्ण रूपमा अवरुद्ध छ । पहिरो खसेपछि दुवैतर्फका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

अहिले सडकमा खसेको पहिरो पन्छाउने काम भइरहेको थापाले बताए । थप पहिरो नखसे छिट्टै सडक दुईतर्फी सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ ।

‘थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ,’ उनले भने ।

चाडपर्वको समयमा राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन चालकले सास्ती खेप्नुपरेको छ । पहिरो पन्छाउने काम सकिएपछि मात्रै सडकमा नियमित आवागमन सुरु हुनेछ ।