काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको हो ।
छ टोली सहभागी प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल गर्यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्याण्डलाई सात विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको थियो । दोस्रो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दा वर्षाका कारण नतिजा आउन सकेन । तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले हराएको नेपालले चौथो खेलमा थाइल्याण्डमाथि पुनः ५२ रनको जित निकालेको थियो ।
पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले पराजित गर्दै नेपालले उपाधि यात्रालाई थप बलियो बनाएको थियो । अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेट गुमाएर ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन ।
नेपाल, आयोजक चीन, हङकङ र थाइल्याण्ड सहभागी प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा गरेको हो ।