पोल्यान्डको क्राकोभमा गोलीकाण्ड, कम्तीमा ६ जनाको मृत्यु

५ दिन अगाडि
पोल्यान्डको क्राकोभमा गोलीकाण्ड, कम्तीमा ६ जनाको मृत्यु

पोल्यान्ड । पोल्यान्डको पुरानो राजधानी क्राकोभस्थित मुख्य चोक ग्हुभ्ने रेनेकमा भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १६ जनाभन्दा बढी घाइते भएका छन् ।

स्थानीय समयअनुसार शनिबार दिउँसो करिब ३ बजे एक बन्दुकधारीले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । क्राकोभको मुख्य चोक पर्यटकीय क्षेत्र भएकाले घटनामा विभिन्न देशका नागरिक प्रभावित भएको बताइएको छ ।

प्रहरीका अनुसार गोली प्रहारमा संलग्न व्यक्ति पोल्यान्डका नागरिक हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि संदिग्ध व्यक्तिको घरमा खानतलासी गर्दा थप तीन जनाको शव फेला परेको विवरण सार्वजनिक भएको छ ।

गोलीकाण्डमा दुई प्रहरीसमेत घाइते भएका छन् । उनीहरू दुवैको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ ।

यसैबीच, पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले घटनाका क्रममा साहस देखाएका दुई प्रहरी अधिकारीको प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जालमा सिनियर कन्स्टेबल याकुब कुलिक र सिनियर कन्स्टेबल आर्तुर मोरान्स्कीलाई वास्तविक नायकको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री टुस्कले आफ्नै ज्यानको जोखिम मोलेर उनीहरूले धेरै मानिसको ज्यान बचाएको उल्लेख गरेका छन् । दुवै प्रहरीको अवस्था गम्भीर भए पनि उत्कृष्ट उपचार भइरहेको र सम्पूर्ण पोल्यान्ड उनीहरूको स्वास्थ्यलाभको कामनामा रहेको उनले बताएका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।