आफूखुसी उम्मेदवारी घोषणा गरे सदस्यता नै खारेज गर्ने रास्वपाको चेतावनी

५ दिन अगाडि
आफूखुसी उम्मेदवारी घोषणा गरे सदस्यता नै खारेज गर्ने रास्वपाको चेतावनी

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले आफूखुसी उम्मेदवारी घोषणा गर्न थालेपछि पार्टीलाई व्यवस्थापनमा सकस परेको छ । पार्टीले उम्मेदवारका आकांक्षीलाई ‘क्यान्डिडेट क्लब’ मा दर्ता हुन आह्वान गरे पनि आवेदन दिएकै आधारमा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा हुन थालेपछि कोशी प्रदेश समितिले कडा निर्देशन जारी गरेको छ ।

रास्वपा कोशी प्रदेशले अत्यन्त जरुरी सूचना जारी गर्दै पार्टीको आधिकारिक निर्णय र प्रक्रियाबिना उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको हो । प्रदेश महामन्त्री निरज कटुवालले निर्देशन उल्लङ्घन गर्ने व्यक्तिको साधारण सदस्यतासमेत खारेज हुन सक्ने चेतावनी दिएका छन् ।

‘क्यान्डिडेट क्लबमा निवेदन दिनु उम्मेदवारी घोषणा होइन,’ उनले भने, ‘पार्टीको निर्देशनविपरीत उम्मेदवारी घोषणा गरेमा उम्मेदवारी खारेजी, छनोट प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट मुक्त गर्नेदेखि पार्टीको साधारण सदस्यता नै समाप्त गर्नेसम्मको कारबाही हुनेछ ।’

महामन्त्री कटुवालद्वारा जारी सूचनामा पार्टीको विधिभन्दा माथि रहने छुट कसैलाई नभएको उल्लेख छ । विधिको शासन, आन्तरिक लोकतन्त्र र संस्थागत मर्यादालाई पूर्ण रूपमा आत्मसात गर्न पार्टीका सदस्य तथा आकांक्षीलाई निर्देशन दिइएको छ ।

सूचनामा उम्मेदवार छनोट प्रक्रियासम्बन्धी तीन विषयमा विशेष जोड दिइएको छ । पहिलो, क्यान्डिडेट क्लबमा आवेदन दिँदैमा उम्मेदवारी सुनिश्चित नहुने भएकाले आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने वा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रचारप्रसार गर्ने कार्य विधिविपरीत हुने स्पष्ट पारिएको छ । यसअघि प्रकाशित वा साझा गरिएका त्यस्ता सामग्री तत्काल हटाउन पनि पार्टीले निर्देशन दिएको छ ।

दोस्रो, उम्मेदवार छनोट प्रक्रियामा व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब वा धम्की स्वीकार नगरिने जनाइएको छ । निर्वाचन प्रभावित पार्ने उद्देश्यले आर्थिक लेनदेन गर्ने, उपहार दिने, भोजभतेर आयोजना गर्ने वा शक्तिको दुरुपयोग गर्ने कार्यसमेत निषेध गरिएको छ ।

तेस्रो, पार्टीका आन्तरिक दस्तावेज, निर्णय, छलफल तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न निर्देशन दिइएको छ ।

क्यान्डिडेट क्लबमा निवेदन दिएका कोशी प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखका आकांक्षीहरूको सूची नेपाल प्रेसमा सार्वजनिक भएको थियो । त्यसलगत्तै रास्वपा कोशी प्रदेशले उम्मेदवारी घोषणा र प्रचारप्रसारसम्बन्धी गतिविधिमा रोक लगाउँदै कडा सूचना जारी गरेको हो ।