घोप्टेभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

५ दिन अगाडि
घोप्टेभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

आइतबार बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रूपमा गन्तव्यतर्फ लागेका छन् । सडक एकतर्फी सञ्चालन हुँदा सवारीसाधनलाई लाम लगाएर आलोपालो पठाइएको थियो ।

करिब ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो । नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार उक्त स्थानमा सडकको भित्तो नकाटिएको भए पनि माथिबाट आफैँ पहिरो खसेको हो ।

उनका अनुसार उक्त ठाउँको भौगर्भिक अवस्था कमजोर रहेकाले जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम कायमै छ । सडक सञ्चालनमा आए पनि यात्रु तथा सवारीचालकलाई सो क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था छ ।