काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । हिन्दू धर्मावलम्बीले गाईलाई गौमाताका रूपमा सम्मान गर्दै विधिपूर्वक पूजा गरेर गाईपूजा मनाउने परम्परा छ ।
हिन्दू धार्मिक मान्यताअनुसार गाईलाई पवित्र जनावरका रूपमा लिइन्छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई माताका रूपमा सम्मान गर्ने चलन छ । दूध, दही, घिउ, गोबर र गहुँत धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग हुने भएकाले पनि गाईको विशेष महत्त्व रहेको छ ।
गाईपूजाका दिन गाईलाई नुहाइदिने, निधारमा टीका लगाउने, माला पहिर्याउने र विभिन्न मीठा परिकार खान दिने गरिन्छ । धार्मिक विश्वासअनुसार विधिपूर्वक गाईको पूजा गरी भोजन गराउँदा पुण्य प्राप्त हुने मान्यता छ ।
नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने परम्परा रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन् ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीमा विभिन्न धार्मिक कार्य तथा संस्कारमा गाईदान गर्ने परम्परासमेत छ । तर, पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर त्यसको सट्टा रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताए ।
गाईलाई नेपालले राष्ट्रिय जनावरका रूपमा समेत सम्मान दिएको छ । धार्मिक मान्यताअनुसार साउन शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमामा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईपूजाका दिन गाईको पुच्छरमा बाँधिदिने चलन पनि छ । यसो गर्दा मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने र स्वर्ग पुग्ने बाटो सहज हुने धार्मिक विश्वास रहिआएको छ ।
यसरी गाईपूजा केवल धार्मिक विधिमा सीमित नभई हिन्दू धर्मावलम्बीको आस्था, संस्कृति र परम्परासँग जोडिएको पर्वका रूपमा मनाइँदै आएको छ ।