पटाका पड्काउँदा जलेर पाँच वर्षीय बालकको मृत्यु

४ दिन अगाडि
पटाका पड्काउँदा जलेर पाँच वर्षीय बालकको मृत्यु

पर्सा । पर्सामा पटाका पड्काउने क्रममा जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ । पकाहाँ मैनपुर गाउँपालिका-२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको हो ।

सोमबार बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा बालकको छातीमा आगो लागेको थियो । आगोले गम्भीर रूपमा जलेपछि उनी बेहोस भएका थिए ।

घटनालगत्तै बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा मखु सहनीले बताए ।

प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।