काठमाडौंको न्यूनतम तापक्रम १० डिग्रीमा झर्‍यो, यस वर्षकै कम

४ दिन अगाडि
काठमाडौंको न्यूनतम तापक्रम १० डिग्रीमा झर्‍यो, यस वर्षकै कम

काठमाडौं । देशभर चिसो बढ्दै जाँदा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पनि घटेको छ । सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । यो २०८३ साल काठमाडौंमा मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् माधवी सिग्देलका अनुसार यस वर्ष अहिलेसम्मको मापनमा सोमबार काठमाडौंको न्यूनतम तापक्रम सबैभन्दा कम देखिएको हो ।

“काठमाडौंमा यो वर्षको लागि अहिलेसम्म मापन गर्दाखेरि आज नै कम हो,” उनले भनिन् ।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसअघि शनिबार १३.२ डिग्री सेल्सियस थियो । यस वर्ष यसअघि काठमाडौंको न्यूनतम तापक्रम सबैभन्दा कम कात्तिक ११ गते ११.५ डिग्री सेल्सियस मापन भएको थियो ।

महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको १७ स्थानको विवरणअनुसार जुम्लामा सबैभन्दा कम माइनस ०.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । त्यस्तै, डडेलधुरामा ८.७, ताप्लेजुङमा ११.७, धनकुटामा १२.४, पोखरामा १२.६, वीरेन्द्रनगरमा १३.४ र ओखलढुंगामा १३.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे मापन गरिएको न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण सार्वजनिक गर्दै आएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभर तापक्रम घट्दै जाँदा बिहान र रातिको समयमा चिसो बढिरहेको छ ।