अफगानिस्तानलाई हराउनेमा विश्वस्त छौं : कप्तान नरेन भट्ट

एक बर्ष अगाडि
अफगानिस्तानलाई हराउनेमा विश्वस्त छौं : कप्तान नरेन भट्ट

काठमाडौं ३ वैशाख — नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान नरेन भट्टले आईसीसी यू–१९ विश्वकप एसिया छनोटको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गर्ने आत्मविश्वास टोलीमा रहेको बताएका छन्।

हङकङविरुद्ध ९ विकेटको शानदार जितपछि प्रतिक्रिया दिँदै कप्तान नरेनले टिमको मनोबल उच्च रहेको उल्लेख गरे। हामी विश्वस्त छौं, जुन हिसाबले खेलिरहेका छौं, त्यसअनुसार अफगानिस्तानलाई हराएर विश्वकपमा छनोट हुन सक्छौं ।

अफगानिस्तानसँग विशेष रणनीति

नरेनका अनुसार, यसअघि अफगानिस्तानसँग खेलेको युथ ओडीआई सिरिजबाट धेरै कुरा सिकिएको छ र त्यहीअनुसार रणनीति बनाइनेछ। ब्याटिङ होस् या बलिङ, आफ्नो बेस्ट दिनेछौं," उनले भने ।

हङकङविरुद्धको सहज जित

बुधबार सम्पन्न खेलमा नेपालले ११६ रनको लक्ष्य १३ ओभरमै १ विकेट गुमाएर पूरा गर्दै शानदार जित हात पार्‍यो।
"विपक्षीको सुरुवात राम्रै थियो, तर हामीले रणनीति बनाएर राम्रो फिनिस गर्न सफल भयौं," कप्तानले भने। उनले युवराज खत्रीको प्रदर्शनको प्रशंसा गर्दै फर्ममा आइरहेको उल्लेख गरे।

नरेनको प्राथमिकता—जित

नरेनले नेट रनरेटको भन्दा पनि प्रत्यक्ष जित नै मुख्य लक्ष्य रहेको बताए। "अब अफगानिस्तानविरुद्ध पनि जित निकाल्ने र विश्वकप यात्रा सुनिश्चित गर्ने भरोसा लिएका छौं," उनले भने। अब निर्णायक भिडन्त बिहीबार नेपाल र अफगानिस्तानबीच हुनेछ, जसले यू–१९ विश्वकपको यात्रा निर्धारण गर्नेछ।