अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता

३ दिन अगाडि
अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता

काठमाडौं । रुस-युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यसहित रुस, युक्रेन र अमेरिकाबीच मंगलबार र बुधबार संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा त्रिपक्षीय वार्ता हुँदै छ । अमेरिकी मध्यस्थतामा यसअघि जनवरी र फेब्रुअरीमा भएका वार्ताबाट ठोस सहमति जुट्न नसकेपछि तीनै देश पुनः वार्ताको टेबलमा बस्न लागेका हुन् ।

वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, युद्धको तनाव न्यूनीकरण, मानवीय सहायता र शान्ति स्थापनाका लागि अघि बढाउनुपर्ने कदमबारे छलफल हुने अमेरिकी विशेष दूत स्टिभ विटकफले बताएका छन् । लामो समयदेखि जारी युद्ध अन्त्यका लागि साझा सहमति खोज्ने प्रयासस्वरूप यो वार्तालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, युद्धबन्दी आदानप्रदान र तीनै देशका शीर्ष नेताबीच सम्भावित बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् । युक्रेनले भविष्यमा रुसबाट हुन सक्ने सैन्य आक्रमण रोक्न भरपर्दो अन्तर्राष्ट्रिय सुरक्षा प्रत्याभूति खोजिरहेको छ ।

यद्यपि, वार्ताबाट तत्कालै ठूलो उपलब्धि हासिल हुने अपेक्षा गरिएको छैन । युक्रेनी प्रतिनिधिमण्डलका सदस्य तथा सांसद दाभिड अराखामियाले लामो अन्तरालपछि तीन देशबीच त्रिपक्षीय वार्ता पुनः सुरु हुनु नै सकारात्मक उपलब्धि भएको बताएका छन् । उनका अनुसार अहिले नै ठूलो प्रगतिको अपेक्षा गर्नुभन्दा वार्ताको निरन्तरता कायम हुनु महत्त्वपूर्ण छ ।

को–को सहभागी हुँदैछन् वार्तामा ?

अबुधाबीमा हुने वार्तामा तीनै देशले उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउँदै छन् । अमेरिकाका तर्फबाट विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नर सहभागी हुनेछन् । अमेरिकी राष्ट्रपति ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यलाई आफ्नो कूटनीतिक प्राथमिकताका रूपमा अघि सार्दै आएका छन् ।

रुसले राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार भ्लादिमिर मेडिन्स्कीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाएको छ । टोलीमा उच्चस्तरीय सैन्य तथा गुप्तचर अधिकारीहरू पनि रहनेछन् । रुसी पक्षबाट सैन्य र सुरक्षा अधिकारीहरूको सहभागिताले वार्तामा युद्धको अवस्थासँगै सम्भावित सुरक्षा व्यवस्थाका विषयले पनि प्राथमिकता पाउने संकेत गरेको छ ।

युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व वैदेशिक गुप्तचर सेवाका प्रमुख रुस्तेम उमेरोभले गर्नेछन् । टोलीमा सांसद दाभिड अराखामियासहित कूटनीतिक तथा सैन्य अधिकारीहरू सहभागी हुनेछन् ।

युरोपेली संघ पनि वार्तामा जोडिने प्रयासमा

अबुधाबीमा त्रिपक्षीय वार्ता सुरु हुनुअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सोमबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनसँग साझा रणनीतिबारे छलफल गरेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत वार्ताबाट ठोस परिणाम आउने अपेक्षा व्यक्त गरेका छन् । भोन देर लेयनले पनि युरोपेली संघ आफ्ना सहयोगीहरूसँगै वार्ता प्रक्रियामा उपस्थित रहने बताएकी छन् ।

युरोपेली मुलुकहरूले युक्रेनको भविष्य र सम्भावित शान्ति सम्झौतामा आफ्नो भूमिका सुनिश्चित गर्न खोजिरहेका छन् । यसका लागि अबुधाबीमा युरोपेली प्रतिनिधिहरूसँग छुट्टै ढाँचामा बैठक गर्ने तयारीसमेत गरिएको छ ।

उक्त बैठकमा जर्मन चान्सलर फ्रेडरिक मर्जका विदेश तथा सुरक्षा नीति सल्लाहकार गुन्टर साउटर, फ्रान्सका कूटनीतिक सल्लाहकार इमानुएल बोन्ने, बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीका कूटनीतिक सल्लाहकार फाब्रिजियो साग्जियो सहभागी हुने बताइएको छ ।

त्यस्तै, युरोपेली आयोगकी अध्यक्ष भोन देर लेयनका प्रमुख स्वकीय सचिव ब्योर्न साइबर्ट र नेटो महासचिव मार्क रुट्टेका प्रमुख स्वकीय सचिव जियोफ्री भान लिउवेन पनि उपस्थित हुनेछन् ।

तर, सम्भावित शान्ति सम्झौतासम्बन्धी मुख्य वार्तामा युरोपेली प्रतिनिधिहरूले औपचारिक रूपमा सहभागिता जनाउन पाउने वा नपाउने भन्ने अझै स्पष्ट भएको छैन । युरोपेली संघले वार्ता प्रक्रियामा आफ्नो उपस्थिति र प्रभाव कायम राख्न खोजे पनि रुसले भने वार्ता युक्रेन, रुस र अमेरिकाबीच मात्र सीमित हुनुपर्ने अडान राख्दै आएको छ ।

सुरक्षा अध्ययन निर्देशक हान्ना शेलेस्टले पनि युरोपेली प्रतिनिधिहरूले बढीमा पर्यवेक्षकको भूमिका पाउन सक्ने आकलन गरेकी छन् । युक्रेनी प्रिजम नामक विदेश नीति अनुसन्धान संस्थासँग आबद्ध शेलेस्टका अनुसार रुसी प्रतिनिधिमण्डलले युरोपेली प्रतिनिधिहरूलाई मुख्य वार्तामा बोल्नसमेत नदिन सक्छ ।

युरोपको चासो : शान्ति प्रक्रियामा आफ्नो भूमिका

रुस र युक्रेनबीचको युद्धले युरोपेली सुरक्षा व्यवस्थालाई प्रत्यक्ष प्रभावित पारिरहेको छ । त्यसैले युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौतामा युरोपेली मुलुकहरूको भूमिका र चासो सम्बोधन हुनुपर्ने उनीहरूको जोड छ । विशेषगरी युक्रेनको सुरक्षा ग्यारेन्टी, युद्धपछिको पुनर्निर्माण र रुससँगको भविष्यको सम्बन्ध युरोपका लागि महत्त्वपूर्ण विषय हुन् ।

यसअघि बर्लिन भ्रमणका क्रममा जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई ७० अर्ब युरो सहयोग दिने युरोपेली संघको प्रतिबद्धता दोहोर्‍याएका थिए । उनले युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गम्भीर हुन आग्रहसमेत गरेका थिए ।

अबुधाबी वार्तामा युक्रेनले सुरक्षा ग्यारेन्टी र युद्धविरामलाई प्राथमिकतामा राखेको छ भने अमेरिकाले युद्ध अन्त्यका लागि सहमतिको बाटो खोजिरहेको छ । रुसले भने वार्ताको दायरा तीन देशमा सीमित राख्न खोजेको छ । यस्तो अवस्थामा युरोपेली संघको सहभागिता, युक्रेनको सुरक्षा सुनिश्चित गर्ने उपाय र रुसको अडानबीच सहमतिको बिन्दु खोज्नु वार्ताको मुख्य चुनौती हुने देखिन्छ ।

दुई दिनसम्म चल्ने यस वार्ताले युद्ध अन्त्यको दिशामा नयाँ आधार तयार गर्छ वा यसअघिका प्रयासजस्तै सीमित छलफलमै टुंगिन्छ भन्ने चासो अन्तर्राष्ट्रिय समुदायमा बढेको छ ।