काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७ को नयाँ वर्ष (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् ।
प्रधानमन्त्री बालेनले राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालीको मौलिक समयचक्र र पहिचान भएको बताएका छन् । उनले नेपाल संवत्लाई नेपालको मौलिक इतिहास, संस्कृति र राष्ट्रिय गौरवसँग जोडिएको परम्पराका रूपमा व्याख्या गरेका छन् ।
म्ह पूजाको सांस्कृतिक र आध्यात्मिक महत्त्व उल्लेख गर्दै उनले नेवार समुदायमा मनाइने यो पर्वले आत्मशुद्धि र चेतनाको बोध गराउने बताएका छन् । ‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने परम्पराको मर्म गहिरो रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री बालेनले म्ह पूजाले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । उनले यस्ता मौलिक परम्परालाई नेपाल र नेपालीको गौरवका रूपमा उल्लेख गरेका छन् ।
उनले गोवर्धन पूजाको धार्मिक तथा सांस्कृतिक महत्त्व पनि स्मरण गरेका छन् । पौराणिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको प्रसंग उल्लेख गर्दै उनले कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्परालाई नेपाली संस्कृतिको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गरेका छन् ।
गोवर्धन पूजा तथा हली तिहारका अवसरमा भैलोका मीठा भाका र देउसेहरूको आशीर्वादले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने पनि उनले बताएका छन् । यस्ता चाडपर्वले आपसी रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री बालेनले नेपाल संवत्, म्ह पूजा, गोवर्धन पूजा तथा हली तिहारजस्ता मौलिक पर्वले नेपाली समाजको सांस्कृतिक विविधता, सामाजिक सद्भाव र एकतालाई जीवन्त राख्ने सन्देश दिएका छन् ।