काठमाडौं । देशका विभिन्न स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने मधेस प्रदेशमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
त्यसैगरी, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भूभागका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
यसैबीच, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको विभागले जनाएको छ।