काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा भाइटीका पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका तथा फूलमाला लगाइदिने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत आज कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । साइत खोजेर टीका लगाउन चाहनेका लागि उक्त समय उत्तम मानिएको समितिले जनाएको छ । यद्यपि सर्वसाधारणले मध्याह्नकालमा दिनभर आफ्नो अनुकूल समयमा टीका लगाउन सक्नेछन् ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व फर्कने र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
तिहार नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिप्रतिक सम्मान झल्काउने विशिष्ट पर्व हो । पाँच दिनसम्म मनाइने यस पर्वमा काग, कुकुर, गाई र गोरुको पूजा गरी मानव जीवनमा तिनको महत्त्व र योगदानप्रति कृतज्ञता व्यक्त गरिन्छ । लक्ष्मीपूजा, दीपावली, गोवर्धन पूजा तथा नेवार समुदायको मौलिक परम्परा म्हः पूजा पनि तिहारका विशेष आकर्षण हुन् ।
भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै पारिवारिक एकता र आत्मीयताको सन्देश दिन्छ ।
तर, तिहारको रमाइलोसँगै जोडिने जुवातासको विकृतिले भने पर्वको महत्त्वलाई ओझेलमा पार्ने जोखिम बढाएको छ । परम्परा र मनोरञ्जनका नाममा सुरु हुने जुवातास कतिपयका लागि आर्थिक तथा पारिवारिक संकटको कारण बन्ने गरेको छ ।
केही रकम हार्दा फिर्ता जित्ने लोभ र जित्दा अझ बढी कमाउने लालसाले मानिसलाई जुवाको लतमा फसाउन सक्छ । यसबाट परिवारको वर्षभरिको कमाइ क्षणभरमै गुम्ने र पर्वको खुसी नै पीडामा परिणत हुने अवस्था आउन सक्छ ।
पछिल्लो समय अनलाइनमार्फत खेलिने विद्युतीय जुवाले जोखिम थप बढाएको छ । मोबाइल र इन्टरनेटको पहुँचसँगै एक्लै, लुकेर र जुनसुकै समयमा जुवा खेल्न सकिने अवस्थाले विशेषगरी युवापुस्तामा यसको लत बस्ने खतरा बढाएको छ ।
त्यसैले तिहारलाई जुवातासको माध्यमबाट नभई संस्कार, संस्कृति र पारिवारिक सद्भावको माध्यमबाट मनाउन आवश्यक छ । बालबालिकालाई देउसीभैलो, दीपावली, परम्परागत परिकार, टीका र फूलमालाको महत्त्व बुझाउँदै आफन्त तथा परिवारसँग रमाइलो वातावरणमा पर्व मनाउन प्रेरित गर्नुपर्छ ।
तिहारको वास्तविक खुसी जुवामा जितिने पैसामा होइन, परिवारको साथ, सम्बन्धको आत्मीयता र संस्कृतिको संरक्षणमा छ । उज्यालोको पर्वलाई जुवाको अँध्यारोबाट जोगाउँदै सद्भाव, प्रेम र आपसी सम्मानका साथ मनाउनु आजको आवश्यकता हो ।