छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

४३ मिनेट अगाडि
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना, उपासना र पूजाआराधना गरी मनाइने चारदिने छठ पर्वअन्तर्गत आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वको सुरुआत शुक्रबारदेखि भएको हो ।

छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका अवसरमा व्रतालुहरू दिनभर कठोर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारीमा छन् । यसका लागि देशभरका नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा छठ पूजाका लागि विशेष सजावट गरिएको छ । काठमाडौं उपत्यकामा पनि गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा पूजाको तयारी पूरा गरिएको छ ।

छठ पर्व सूर्यदेवको उपासना र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्ने विशिष्ट धार्मिक तथा सांस्कृतिक पर्व हो । सूर्यको प्रकाश र ऊर्जाले सम्पूर्ण जीव तथा वनस्पतिको अस्तित्व सम्भव भएको धार्मिक मान्यता छ । त्यसैले यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरी अर्घ्य दिने परम्परा छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताअनुसार महाभारतकालदेखि नै छठ पर्व मनाउने परम्परा रहेको विश्वास गरिन्छ । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए । त्यसबेला पाण्डवहरू विराट राजाको दरबारमा बसेको प्रसङ्गसँग छठ पर्वको परम्परालाई जोडेर हेर्ने गरिएको छ ।

त्यस्तै, सूर्य पुराणमा उल्लेख भएअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन् । व्रतको प्रभावस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ । पुराणमा श्रीकृष्णका पुत्र साम्ब सूर्यदेवको आराधना गरेपछि कुष्ठरोगबाट मुक्त भएको प्रसङ्ग पनि उल्लेख छ ।

छठ पर्वमा व्रत बसे दुःख, दरिद्रता तथा रोगव्याधिबाट मुक्ति मिल्ने र परिवारका सदस्यको कल्याण हुने जनविश्वास छ । विशेषगरी झुप्पा–झुप्पा फलफूल तथा विभिन्न परिकार सूर्यदेवलाई चढाउने परम्परा छ । यसरी पूजा गर्दा व्रतालुका साथै परिवार र सन्तानको सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ ।
चार दिनको व्रतविधि
छठ पर्वको पहिलो दिन कार्तिक शुक्ल चतुर्थीमा व्रतालुले स्नान गरी चोखो भोजन गरेर व्रतको सङ्कल्प गर्छन् । दोस्रो दिन पञ्चमीमा खरना विधि गरिन्छ । यस दिन सखर मिसाएर बनाइएको खीर षष्ठी मातालाई चढाएपछि प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । खरनापछि व्रतालुहरू निराहार व्रत सुरु गर्छन् ।

तेस्रो दिन अर्थात् आज षष्ठीमा दिनभर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । अर्घ्यका लागि बाँसका ढाकी तथा सुपामा फलफूल, ठेकुवा, भुसुवा र अन्य प्रसाद सजाएर जलाशयको किनारमा लगिन्छ ।

गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहका अनुसार षष्ठीका दिन रातभर जाग्राम बसेर भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वाससमेत छ । व्रतालुहरूले चतुर्थीदेखि नै शुद्धता र पवित्रतामा विशेष ध्यान दिने गर्छन् । कतिपयले कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि नै लसुन, प्याजलगायत तामसी भोजन त्यागेर सात्त्विक आहार ग्रहण गर्ने परम्परा पनि पालना गर्छन् ।

तराई–मधेस क्षेत्रमा विशेष उत्साहका साथ मनाइँदै आएको छठ पर्वले पछिल्लो समय राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । २०४६ सालदेखि सरकारले छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिन थालेको थियो । बीचका केही वर्ष बिदा कटौती गरिए पनि पुनः सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ ।

भोलि कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व समापन हुनेछ ।