मधेसमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

२५ मिनेट अगाडि
मधेसमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ ।

मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई आफ्नो दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी राजनीतिक दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयले इच्छुक प्रदेशसभा सदस्यलाई आगामी मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी पेस गर्न समयसीमा तोकेको छ ।

यससँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति र बहुमत जुटाउने प्रक्रिया अघि बढ्ने भएको छ ।