काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्ने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।
आइतबार बिहान देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । दिउँसो हिमाली भू–भागका साथै कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने विभागले जनाएको छ । बाँकी पहाडी तथा तराई क्षेत्रमा भने आंशिक बादल लाग्नेछ ।
विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।
त्यस्तै, कोसी, वाग्मती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने कोसी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बादल रहनेछ । तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा पनि देशका हिमाली भू–भाग तथा कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।