काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले त्यहाँका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका छन् ।
शनिबार भएको भेटवार्तामा नेपाल र यूएईबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको गृहमन्त्री गुरुङले जानकारी दिएका छन् ।
भेटका क्रममा नेपालले बुढीगण्डकी जलविद्युत् आयोजनासहित कृषि तथा सेवा क्षेत्रका परियोजनामा यूएईको लगानी र सहकार्यका लागि प्रस्ताव प्रस्तुत गरेको थियो । त्यस्तै, सुरक्षा प्रविधिको विकास र सुरक्षा निकायको आधुनिकीकरणमा समेत यूएईसँग सहकार्यको प्रस्ताव गरिएको गुरुङले बताएका छन् ।
उनका अनुसार भेटमा ‘फेसलेस पोलिसिङ’, गैरघातक सुरक्षा उपकरणको उत्पादन तथा सुरक्षा निकायलाई प्रविधिमैत्री बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो ।
नेपालले प्रस्ताव गरेका परियोजनामा सहकार्य गर्न यूएईका वैदेशिक व्यापारमन्त्री डा. अल जेयोदीले सकारात्मक तत्परता देखाएको गृहमन्त्री गुरुङको भनाइ छ ।
यस भेटलाई नेपाल र यूएईबीच लगानी, व्यापार तथा सुरक्षा प्रविधिसम्बन्धी सहकार्य विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ ।