काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा रास्वपा नेता बालेन शाहसहित नौ जनासँग स्पष्टीकरण माग गरेको छ। आयोगले शनिबारसम्म २१ जनासँग स्पष्टीकरण माग गरिसकेकोमा आइतबार र सोमबार थप नौ जनाको नाम सूचीमा थपिएको हो।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार रास्वपा झापा–५ का उम्मेदवार बालेन्द्र शाहसँग दोस्रोपटक स्पष्टीकरण माग गरिएको छ। चुनाव प्रचारका क्रममा उनका श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको देखिने श्रव्यदृश्य सामग्री प्राप्त भएको भन्दै आयोगले यस विषयमा स्पष्ट जवाफ मागेको हो।
यस्तै, बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी अपमानजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको उजुरी परेपछि आयोगले उनलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।
यसैगरी सिन्धुपाल्चोक–१ मा नेपाल कम्युनिष्ट पार्टीको निर्वाचन कार्यालय बाहिर पार्टीको चुनावी चिन्ह पेन्ट गरेर राखिएको उजुरीका आधारमा आयोगले पार्टीको जिल्ला कार्य समितिसँग स्पष्टीकरण माग गरेको छ। सोही विषयमा उम्मेदवार माधव सापकोटासँग पनि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
यसैबीच जिल्ला प्रशासन कार्यालय झापाले मतदातालाई कुन उम्मेदवारलाई मत दिने भन्ने प्रश्न सोध्न नपाइने निर्णय गरेको छ।झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले संयुक्त विज्ञप्ति जारी गर्दै मतदाताको गोपनीयता भङ्ग हुने गतिविधिमा रोक लगाइएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मतदातालाई कसलाई भोट दिने भन्ने प्रश्न सोधिने गरेको भन्दै यस्तो कार्य निर्वाचन आचारसंहिताविपरीत रहेको उल्लेख छ। फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।