पश्चिम बङ्गालमा निपा भाइरस देखिएपछि नेपाल सतर्क

२ महिना अगाडि
पश्चिम बङ्गालमा निपा भाइरस देखिएपछि नेपाल सतर्क

काठमाडौं। भारतको पश्चिम बङ्गाल राज्यमा निपा भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सतर्कता बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपाल–भारत स्थलसीमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको निगरानी तीव्र बनाइएको हो।

मन्त्रालयका अधिकारीहरूका अनुसार कोभिड–१९ महामारीका बेला स्थापना गरिएका स्वास्थ्य जाँच एकाइहरूलाई पुनः सक्रिय बनाइँदै तापक्रम परीक्षण, शङ्कास्पद लक्षणको पहिचान तथा आवश्यक परे परामर्श र रेफरलको व्यवस्था गरिएको छ। हालसम्म नेपालमा निपा भाइरसबाट सङ्क्रमित वा शङ्कास्पद व्यक्ति फेला नपरेको मन्त्रालयले जनाएको छ।

भारतबाट प्राप्त सूचना र समन्वय

भारतीय पक्षका अनुसार गत महिना पश्चिम बङ्गालमा निपा भाइरस पुष्टि भएका दुई स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेका करिब २०० जनालाई निगरानीमा राखिएको थियो। भारतको प्रेस इन्फर्मेशन ब्यूरोले १९६ जनाको स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि भाइरसको लक्षण नदेखिएको जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अन्तर्राष्ट्रिय स्वास्थ्य नियमअनुसार भारतले नेपाललाई निपा भाइरसको अवस्थाबारे नियमित जानकारी गराइरहेको छ। “सङ्क्रमण देखिएका स्वास्थ्यकर्मीका सम्पर्कमा आएका सबै व्यक्तिहरूलाई क्वारेन्टीनमा राखेर परीक्षण भइरहेको र थप फैलावट रोकिएको जानकारी आएको छ,” उनले बताए।

नेपालले पनि सीमा क्षेत्रमा थप सतर्कता अपनाउन भारतीय पक्षसँग सहकार्य गरिरहेको मन्त्रालयले जनाएको छ।

सीमा नाका र विमानस्थलमा कस्तो छ निगरानी ?

पश्चिम बङ्गालसँग जोडिएको पूर्वी नेपालका काकडभिट्टा र भद्रपुर नाकामा स्वास्थ्य डेस्क सञ्चालनमा छन्। झापा जिल्ला प्रशासन कार्यालयका अनुसार उच्च ज्वरो वा शङ्कास्पद लक्षण देखिएमा सम्बन्धित व्यक्तिलाई स्वास्थ्य संस्थामा पठाउने व्यवस्था मिलाइएको छ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको तापक्रम परीक्षण निरन्तर भइरहेको छ। विमानस्थल प्रशासनका अनुसार तोकिएको मापदण्डभन्दा बढी तापक्रम देखिएमा यात्रुलाई अलग्गै राखेर स्वास्थ्यकर्मीको परामर्श गराइन्छ।

स्वास्थ्य मन्त्रालयले हालसम्म कसैलाई पनि निपा भाइरसको आशङ्कामा क्वारेन्टीन, ट्र्याकिङ वा परीक्षण गर्न नपरेको स्पष्ट पारेको छ।

निपा भाइरस कस्तो रोग हो ?

निपा भाइरस जनावरबाट मानिसमा सर्ने जूनोटिक भाइरस हो। विज्ञहरूका अनुसार यो भाइरस प्रायः
– चमेरो
– सुँगुर
– कीटाणुयुक्त खानेकुरा
मार्फत मानिसमा सर्न सक्छ। केही अवस्थामा सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने जोखिम रहन्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २००१ यता भारतमा निपा भाइरसका सात पटक प्रकोप देखिइसकेका छन्। बङ्गलादेश, मलेसिया, फिलिपिन्स र सिङ्गापुरमा पनि यसका घटनाहरू अभिलेख छन्।

डब्ल्यूएचओले निपा भाइरसलाई उच्च घातक रोगको सूचीमा राखेको छ। यसबाट हुने मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्ने अनुमान छ। हालसम्म यसका लागि कुनै प्रमाणित खोप वा औषधि उपलब्ध छैन।

विज्ञहरूको चेतावनी

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुन भारतमा निपा भाइरस देखिनु नेपालका लागि गम्भीर विषय भएको बताउँछन्।
“भारतसँग खुला सीमा भएकाले यसलाई हल्का रूपमा लिन मिल्दैन। मानिसबाट मानिसमा तथा जनावरबाट मानिसमा सर्न सक्ने भएकाले उच्च सतर्कता जरुरी छ,” उनी भन्छन्।

उनका अनुसार सुरुमा रुघाखोकीजस्ता सामान्य लक्षण देखिए पनि पछि स्नायुप्रणालीमा असर पुग्न सक्ने जोखिम रहन्छ।

डब्ल्यूएचओले निपा भाइरसको जोखिम कम गर्न चमेरोले टोकेको वा जुठो पारेको फलफूल नखान, काँचो ताडी सेवन नगर्न, शङ्कास्पद बिरामीसँग असुरक्षित सम्पर्क नगर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन सुझाव दिएको छ।

हाल नेपालमा निपा भाइरसको कुनै पुष्टि भएको छैन। तर भारतको पश्चिम बङ्गालमा देखिएको घटनालाई मध्यनजर गर्दै सीमा नाका, विमानस्थल र स्वास्थ्य प्रयोगशालाहरूलाई तयारी अवस्थामा राखिएको छ। विज्ञहरूका अनुसार जोखिम न्यूनीकरणका लागि सतर्कता, सचेतना र समयमै सूचना आदानप्रदान नै सबैभन्दा प्रभावकारी उपाय हुन्।