प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

२ महिना अगाडि
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौं २० माघ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा अनुभवी बैंकर सुमन शर्मा नियुक्त भएका छन्। बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव हासिल गरेका शर्मा नेपाली बैंकिङ क्षेत्रका कुशल र स्थापित नेतृत्वका रूपमा परिचित छन्। उनी यसअघि सनराइज बैंक तथा माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्।

प्रभु बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार पदबाट राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै बैंकले शर्मालाई नयाँ सीईओका रूपमा नियुक्त गरेको हो।

शर्माले ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक लगायतका प्रतिष्ठित बैंक तथा वित्तीय संस्थाहरूमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव हासिल गरेका छन्।

शैक्षिक पृष्ठभूमितर्फ, शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्। उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए। सात वर्षसम्म एसबीआई बैंकमा कार्यरत रहेपछि उनले सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए अध्ययन पूरा गरेका हुन्।

अर्थशास्त्र र एमबीए इन फाइनान्समा स्वर्ण पदक विजेता समेत रहेका शर्माको नेतृत्वमा प्रभु बैंकले संस्थागत सुदृढीकरण, डिजिटल बैंकिङ विस्तार र सेवा गुणस्तर अभिवृद्धिमा नयाँ गति लिने अपेक्षा गरिएको छ।