क्षेत्रीय चासोबीच राष्ट्रपतिको जापान भ्रमण, टोकियोको शान्त कूटनीति

२ महिना अगाडि
क्षेत्रीय चासोबीच राष्ट्रपतिको जापान भ्रमण, टोकियोको शान्त कूटनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापान सरकारको निमन्त्रणामा चारदिने औपचारिक भ्रमण गरे । भ्रमणका क्रममा मंगलबार उनले जापानका सम्राट नारुहितोसँग टोकियोस्थित इम्पेरियल प्यालेसमा शिष्टाचार भेटघाट गरे ।

राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन् । भेटघाटका क्रममा उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र संस्कृति जगेर्नामा जापानको सहयोग उल्लेख गरे।

राष्ट्रपति पौडेलले गौतम बुद्धको शिक्षा र लुम्बिनीले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाएको उल्लेख गर्दै कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा बताएका छन् । साथै, उनले सन् १९८७ मा राजकुमारका रूपमा सम्राट नारुहितोले नेपाल भ्रमण गरेको स्मरण गर्दै सन् २०२० मा आफूलाई प्रदान गरिएको ‘ग्रान्ड कर्डन अफ दी अर्डर अफ दि राइजिङ सन’ सम्मानप्रति आभार व्यक्त गरे।

सम्राट नारुहितोले पनि नेपाल–जापान सम्बन्धलाई अझ प्रगाढ बनाउँदै वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनुपर्ने बताए । उनले सन् १९८६ को नेपाल भ्रमणको सम्झना गर्दै पोखराको सराङ्कोट पदयात्राबाट पानीसम्बन्धी अध्ययनप्रति प्रेरणा प्राप्त भएको अनुभव साझा गरेका थिए ।

द्विपक्षी सम्बन्ध मजबुदको प्रयास
गएको सेप्टेम्बर ३ मा चीनले आयोजना गरेको जापानविरुद्ध भनिएको विजयोत्सवमा सैन्य परेडमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए । यहाँ सहभागी नहुन शालिन कुटनीति अवलम्बन गर्ने जापानले नजान कुटनीतिक सन्देश दिएको थियो ।

यो सन्देशलाई नजरअन्दाज गरेको नेपालसँगको सम्बन्धमा केही खट्टास महशुस गरिएको थियो । त्यो परेडमा चीनले त राष्ट्रपति पौडेललाई नै निम्ता दिएको थियो तर उनी जान अनिच्छुक भए र ओली सहभागी हुन पुगे । अहिले राष्ट्रपति पौडेलको जापान भ्रमणले केही हदसम्म दुईदेशबीचको सम्बन्ध सुधारमा भूमिका खेलेको छ । 

नेपालमा भू–राजनीतिकको बाछिटा परिरहँदा जापानले पनि विशेष चासो देखाउने गरेको छ । जापानीको चासो शान्तखालको हुने गरेको छ । भारत, चीन र अमेरिकाले काठमाडौंलाई सिधा हेरिरहँदा टोकियो पनि चनाखो भएको कुटनीतिज्ञहरुको बुझाइछ । नेपालका लागि शालिन सहयोगी जापान दक्षिण एसियामै स्थिरता चाहन्छ ।

सन् २०२३ को मार्चमा जापानी प्रधानमन्त्री फुमियो किसिदाले भारतको भ्रमण गर्दैगर्दा दक्षिण एसियाको स्थिरताका लागि योगदान गर्ने बताएका थिए । उनले गुणस्तरीय पूर्वाधार निर्माणसँग सम्बन्धित कैयौं उत्कृष्ट कम्पनी जापानमा रहेको भन्दै तिनलाई दक्षिण एसियामा काम गर्न प्रोत्साहित गर्ने धारणा राखेका थिए ।

सन् २०१९ मा तत्कालीन जापानी विदेशमन्त्री टारो कोनोले दक्षिण एसिया र चीनको विचमा रहेको नेपालको दिगो विकास यो क्षेत्रको शान्ति र स्थिरताका लागि महत्वपूर्ण रहेको बताएका थिए । नेपालको शान्ति र स्थिरताका लागि जापानले अर्बौं रुपैयाँ खर्चिने गरेको छ ।

नेपालमा जापानको लगानी
सन् १९६९ देखि २०१४ सम्म जापानले नेपालमा द्विपक्षीय एवं बहुपक्षीय वैदेशिक सहायता अन्तर्गत एवं सहायता रकम ७९ अर्ब २ करोड ६० लाख र प्राविधि सहायता रकम ६७ अर्ब ३७ करोड ७० लाख उपलब्ध गराएको थियो । त्यसबाहेक आदान सहायता रकम १ खर्ब ९७ अर्ब ९१ करोड ९८ लाख ९८ हजार ५ सय रुपैयाँ जापानले दिएको थियो ।

२०७२ सालको भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि पनि जापानले २६ अर्ब रुपैयाँ नेपाललाई दियो । त्यसबाहेक जापानले नेपालमा कुलेखानी जलविद्युत आयोजना, कालीगण्डकी जलविद्युत आयोजना र उदयपुर सिमेन्ट उद्योग जस्ता परियोजनाको निर्माणमा सहयोग गरेको थियो भने तनहुँ हाइड्रो पावर निर्माणका लागि १४ अर्ब जापानी येन सहुलियत ऋण दिएको थियो ।

त्यसबाहेक बीपी राजमार्गको निर्माणदेखि पुनर्निर्माण र पछिल्लो समय राजधानी काठमाडौंको प्रवेश बिन्दु नागढुङ्गा नजिकै सुरुङमार्ग निर्माणजस्ता परियोजनामा जापानले सहयोग गरेको छ । सन् २०२२ मा जाइकामार्फत १८ अर्ब ३९ करोड रुपैयाँ सहयोग जापानले दिएको आँकडा छ ।