काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता दोहोर्याएकी छन्। सरकारले कुनै पनि परिस्थितिमा निर्वाचन गराउने स्पष्ट गर्दै उनले आवश्यकता परे दोस्रो चरणमार्फत भए पनि निर्वाचन सम्पन्न गरिने बताइन्।
निर्वाचन तयारीबारे बोल्दै प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा चिसो मौसम तथा भौगोलिक कठिनाइ उत्पन्न भएमा सवारी साधन प्रयोग गरेर मतदातालाई मतदान केन्द्रसम्म पुर्याइने व्यवस्था गरिने जानकारी दिइन्। निर्वाचन जसरी पनि सम्पन्न हुने र नयाँ जनप्रतिनिधि चयन भएपछि सत्ता नयाँ सरकारलाई हस्तान्तरण गरिने उनको भनाइ छ।
सरकारका अनुसार यसपटकको निर्वाचनमा करिब ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यसैबीच, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियामा असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
निर्वाचन आयोग पुगेको टिकटक प्रतिनिधिमण्डलसँगको भेटमा आयुक्त भण्डारीले गलत सूचना, भ्रम फैलाउने सामग्री तथा निर्वाचन आचारसंहिताविपरीत गतिविधि नियन्त्रण गर्न सबै पक्ष सजग हुनुपर्ने बताए। आयोगले सामाजिक सञ्जाल प्लेटफर्महरूसँग सहकार्य गरेर दुरुपयोग रोक्ने प्रयास गरिरहेको र टिकटकजस्ता प्लेटफर्मबाट प्राप्त सहयोगलाई सकारात्मक रूपमा लिएको समेत जनाएको छ।आयोगले प्रविधिको जिम्मेवार प्रयोगमार्फत निष्पक्ष, स्वच्छ र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको स्पष्ट पारेको छ।