कुवेतसँगको हारले नेपाल र दीपेन्द्रसिंह ऐरीको वरीयता खस्कियो

एक बर्ष अगाडि
कुवेतसँगको हारले नेपाल र दीपेन्द्रसिंह ऐरीको वरीयता खस्कियो

काठमाडाैँ ४ बैशाख । हङकङमा सम्पन्न चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा कुवेतसँगको हारले नेपाली क्रिकेट टोलीको वरीयता असरमा परेको छ। तीन रनको नोक्सानीसँगै नेपाल एक स्थान तल झर्दै आईसीसीको टी–२०आई टोली वरीयतामा अब १८औं स्थानमा पुगेको छ।

नेपाल कुवेतभन्दा उच्च वरीयतामा रहेको भए पनि निर्णायक खेलमा हार्दा अंक गुमाएको हो। यसै शृंखलामा प्रभाव जमाउने अपेक्षामा रहेका दीपेन्द्रसिंह ऐरीको व्यक्तिगत वरीयतामा पनि गिरावट आएको छ। टी–२०आई अलराउण्डर वरीयतामा उनी दोस्रो स्थानबाट तेस्रोमा झरेका छन्। अहिले उनले इंग्ल्यान्डका लियाम लिभिङस्टोनसँग समान २०९ रेटिङ बिन्दु साझा गरिरहेका छन्।

पहिले २३३ अंकमा रहेका ऐरीका अंक घटेर २०९ मा झरेका हुन्। यसैबीच, अष्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रो स्थानमा उक्लिएका छन् भने भारतका हार्दिक पाण्ड्या भने २५२ अंकसहित शीर्ष स्थानमा यथावत् छन्।

शृंखलामा दीपेन्द्रले विशेष प्रभाव पार्न सकेनन्। कतारविरुद्ध ब्याटिङ नगरेका उनले बलिङमा ४ ओभरमा २६ रन खर्चिएर विकेट लिन सकेनन्। कुवेतविरुद्धको फाइनलमा उनी डकआउट भए भने बलिङमा पनि विकेटविहीन रहे। हङकङसँगको खेल भने वर्षाले प्रभावित हुँदा उनले खेल्ने मौका पाएनन्।