काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको तत्काल निरुपण गर्न माग गरेको छ। पार्टी उपाध्यक्ष रामबहादुर थापाले अदालतले अनावश्यक ढिलाइ गरिरहेको आरोप लगाउँदै फागुन २१ मा तय भएको निर्वाचनअघि नै मुद्दा टुंग्याउनुपर्ने बताएका छन्।
थापाका अनुसार, यदि प्रतिनिधिसभा पुनःस्थापना भए निर्वाचन प्रक्रिया नै निरर्थक हुने र पुनःस्थापना नहुने अवस्थामा एमाले ढुक्कसँग निर्वाचनमा जाने अडानमा रहेको छ। उनले संवैधानिक स्पष्टताविना निर्वाचनमा जानु मुलुकका लागि अन्योलपूर्ण हुने बताए।
यसैबीच, पार्टी सचिव महेश बस्नेतले न्यायिक प्रक्रिया लामो समयसम्म टुंगो नलाग्दा न्यायिक प्रणाली नै संकटमा पर्न सक्ने टिप्पणी गरेका छन्। एमालेले अदालतबाट शीघ्र निर्णय आए राजनीतिक स्थायित्व सुनिश्चित हुने दाबी गरेको छ।