प्रचारका लागि गाडी प्रयोग गर्न अनुमति अनिवार्य

२ महिना अगाडि
प्रचारका लागि गाडी प्रयोग गर्न अनुमति अनिवार्य

काठमाडौँ २२ माघ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा सवारीसाधन प्रयोग गर्न अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। आयोगले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव प्रचारका लागि गाडी प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो।

आयोगका अनुसार अनुमति बिना गाडी प्रयोग गरेमा वा मौन अवधिमा प्रचारका लागि सवारीसाधन प्रयोग भएमा त्यस्ता गाडी तत्काल नियन्त्रणमा लिइनेछ। नियन्त्रणमा लिइएका सवारीसाधन निर्वाचन सकिएपछि मात्र फिर्ता गरिने जनाइएको छ।

यद्यपि एम्बुलेन्स, दमकल, प्रहरी, सेना तथा अन्य अत्यावश्यक र आकस्मिक सेवाका सवारीसाधनलाई भने यस कार्यविधिअनुसार अनुमति लिनु नपर्ने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।