कांग्रेसको पुनरावृत्ति कि मधेश केन्द्रित दल र नयाँ शक्तिको उलटफेर ?

२ महिना अगाडि
कांग्रेसको पुनरावृत्ति कि मधेश केन्द्रित दल र नयाँ शक्तिको उलटफेर ?

राजविराज २२ माघ । सप्तरी निर्वाचन क्षेत्र नं.४ मा प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बनेको छ। यस क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र गरी कुल २५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। धेरै उम्मेदवार, फरक–फरक राजनीतिक पृष्ठभूमि र स्थानीय प्रभावशाली अनुहारका कारण सप्तरी–४ लाई यसपटक जिल्लाकै प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक सप्तरी–४ मा १ लाख ९ हजार ५ सय ६६ मतदाता रहेका छन्। २०७९ सालको निर्वाचनमा यहाँ १ लाख ४ हजार ८ सय ९३ मतदाता थिए। त्यसअनुसार यसपटक ४ हजार ६ सय ७३ मतदाता थपिएका छन्। मतदाता वृद्धि र दलहरूको पुनःसंरचनाले नतिजा अघिल्लो निर्वाचनभन्दा फरक आउन सक्ने आँकलन गरिएको छ।यो निर्वाचन क्षेत्रमा ४ वटा स्थानीय तह पर्दछन् । स्थानीय तहसँगै समुदायस्तरमा बलियो पकड बनाएका उम्मेदवारहरू मैदानमा रहेकाले मत विभाजन निर्णायक बन्ने देखिन्छ ।

को–को छन् उम्मेदवार ?

सप्तरी–४ मा ठूला दल, मधेश केन्द्रित दल र नयाँ दलबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । मुख्य उम्मेदवारहरू यसप्रकार छन् ।
 नेकपा एमाले – गंगाप्रसाद चौधरी
नेपाली कांग्रेस – तेजुलाल चौधरी
नेकपा – रुवीकुमारी कर्ण
राष्ट्रिय स्वतन्त्र पार्टी – सीताराम साह
राष्ट्रिय प्रजातन्त्र पार्टी – रुपकुमार न्यौपाने
जनता समाजवादी पार्टी नेपाल – वाँवी सिंह
जनमत पार्टी – जितेन्द्रकुमार साह
उज्यालो नेपाल पार्टी – विशो कुमार यादव

यसका अतिरिक्त नेपाल मजदुर किसान पार्टी, नेपाल जनता पार्टी, नेपाली जनता दल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्र निर्माण दल, आम जनता पार्टी र ११ जना स्वतन्त्र उम्मेदवार समेत चुनावी मैदानमा छन्।

कांग्रेसका तेजुलाल चौधरी : अनुभव र पुनरावृत्तिको दाबी

नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी यस क्षेत्रका चर्चित राजनीतिक अनुहार हुन्। पूर्वमन्त्रीसमेत रहेका चौधरी २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए। संगठन, अनुभव र विगतको मत परिणामका आधारमा कांग्रेसलाई यहाँ बलियो दाबेदारका रूपमा हेरिएको छ।स्थानीय तहमा कांग्रेसको संगठन तुलनात्मक रूपमा स्थिर रहेको र चौधरीको व्यक्तिगत पहुँचले मत सुरक्षित गर्न सक्ने कांग्रेस नेताहरूको दाबी छ।

मधेश केन्द्रित दल र नयाँ शक्तिको चुनौती

२०७९ सालको निर्वाचनको समानुपातिक मत परिणाम हेर्दा सप्तरी–४ मा जनमत पार्टी र जसपा नेपालको उल्लेखनीय प्रभाव देखिएको थियो। जनमत पार्टीले समानुपातिकतर्फ सबैभन्दा बढी मत पाएको तथ्यले यसपटक पनि मधेश केन्द्रित दल निर्णायक बन्न सक्ने संकेत गर्छ।

जनमत पार्टीबाट जितेन्द्रकुमार साह र जसपा नेपालबाट वाँवी सिंह मैदानमा छन् । यी दुवै उम्मेदवार स्थानीय रूपमा परिचित र सक्रिय मानिन्छन् । मत विभाजन भए पनि मधेश केन्द्रित मत एकीकृत हुन सके नतिजा पल्टिन सक्ने विश्लेषण गरिएको छ।त्यसैगरी रास्वपाबाट सीताराम साह उम्मेदवार बनेका छन्। अघिल्लो निर्वाचनमा कमजोर देखिए पनि पछिल्लो समय रास्वपाप्रति बढ्दो आकर्षणले यसपटक मत प्रतिशत बढ्न सक्ने आँकलन छ।

२०७९ सालको निर्वाचन : कसको कति मत 

  • प्रत्यक्षतर्फ


कांग्रेस – तेजुलाल चौधरी स् २३,४९१ मत (विजयी)
जसपा नेपाल – वालकिशोर यादव स् १७,९७७ मत
जनमत पार्टी – सुकदेवप्रसाद साह स् १२,९२५ मत
बहुजन शक्ति पार्टी – विश्वेन्द्र पासवान स् ३,१७५ मत
नागरिक उन्मुक्ति पार्टी – देमन मियाँ स् १,५०९ मत
अन्य उम्मेदवारले १ हजार मत कटाउन सकेका थिएनन्।

  • समानुपातिकतर्फ


जनमत पार्टी – १५,१२३ मत
जसपा नेपाल – ११,७७५ मत
कांग्रेस – ९,९२३ मत
एकीकृत समाजवादी – ६,३३८ मत
नागरिक उन्मुक्ति पार्टी – ६,३०४ मत
 एमाले – ४,७७५ मत
बहुजन पार्टी – २,४१६ मत
माओवादी केन्द्र – २,२६४ मत
रास्वपा – १,११० मत
अन्य दलले १ हजार मत पनि कटाउन सकेनन्।

सम्भाव्यता: मत विभाजन नै निर्णायक
सप्तरी–४ मा यसपटक उम्मेदवार संख्या धेरै भएकाले मत विभाजन सबैभन्दा ठूलो कारक बन्ने देखिन्छ। कांग्रेसले विगतको जित दोहोर्‍याउने प्रयास गरिरहेको छ भने मधेश केन्द्रित दलहरू कांग्रेसको पकड तोड्ने रणनीतिमा छन्। एमाले र नयाँ दलहरूका उम्मेदवारले पनि स्थानीय प्रभावका आधारमा मत तान्न सक्ने अवस्था छ।
नयाँ मतदाता संख्या, स्वतन्त्र उम्मेदवारको उपस्थिति र गठबन्धनविहीन प्रतिस्पर्धाका कारण थोरै मतान्तरले नतिजा उल्टिन सक्ने सम्भावना उच्च देखिन्छ।
धेरै उम्मेदवार, फरक राजनीतिक धार र स्थानीय प्रभावशाली अनुहारको भिडन्तले सप्तरी–४ को निर्वाचनलाई रोचक र प्रतिस्पर्धात्मक बनाएको छ। अन्ततः मतदाताको निर्णयले यहाँ पुरानो शक्तिको निरन्तरता हुन्छ कि नयाँ समीकरण जन्मिन्छ । त्यसले सप्तरी–४ को राजनीतिक दिशा तय गर्नेछ ।