काठमाडौं २३ माघ । निर्वाचन आयोगले मुलुकमा शान्तिपूर्ण निर्वाचनका लागि अनुकूल वातावरण बनेको स्पष्ट पारेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सुरक्षाको विषयमा सुरुमा देखिएको अन्योल अब नरहेको बताउँदै निर्वाचन ढुक्कसँग सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
निर्वाचन घोषणा भएलगत्तै शान्ति सुरक्षाका विषयमा गम्भीर छलफल सुरु गरिएको उल्लेख गर्दै कावा प्रमुख आयुक्त भण्डारीले भने, “यो शताब्दीकै सुरक्षाका दृष्टिले पेचिलो अवस्था हो कि भन्ने चिन्ता थियो, तर अहिले त्यस्तो अवस्था छैन।”
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि भदौ २७ मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेका हुन्।
कावा प्रमुख आयुक्त भण्डारीका अनुसार विद्रोहपछिको राजनीतिक संक्रमण र नयाँ–पुराना शक्तिबीच सन्तुलन कायम राख्नुपर्ने अवस्थाका कारण प्रारम्भमा सुरक्षाप्रति चासो स्वाभाविक थियो। आयोगले सरकार र सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल गर्दै जोखिमको पहिचान गरेको उनले बताए।दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षालाई केन्द्रमा राखेर छलफल गरिएको र हाल सुरक्षा निकाय मतदाताको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको निष्कर्ष निकालिएको आयोगको भनाइ छ।