तडीमा जन्ती बस दुर्घटना: १३ जनाको मृत्यु, ३४ घाइते

२ महिना अगाडि
तडीमा जन्ती बस दुर्घटना: १३ जनाको मृत्यु, ३४ घाइते

काठमाडौं २३ माघ । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। दुर्घटनामा ८ जनाको घटनास्थलमै र थप ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार पुर्चौडी–७ बडगाउँ मोडमा अनियन्त्रित भएर सडकबाट तल खसेको थियो। बसमा सवार अधिकांश यात्रु विवाहमा सहभागी हुन गइरहेका आफन्त रहेको बताइएको छ।

दुर्घटनामा परेका ३४ जना घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरूको डडेल्धुरा, बैतडी र धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा तीव्र गति र सडकको घुम्ती दुर्घटनाको कारण हुनसक्ने जनाएको छ।

प्रहरीका अनुसार उक्त बसमा वर–वधु भने सवार थिएनन्। दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पुर्चौडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ। नगरपालिकाले मृतक परिवारलाई राहत तथा घाइतेको उपचारमा सहयोग गर्ने जनाएको छ।