चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट औपचारिक रूपमा चुनावी प्रचार सुरु गरेका छन् । शुक्रबार उनले चितवन–२ का विभिन्न स्थानमा स्थापना गरिएका पार्टी कार्यालयको उद्घाटन गर्दै प्रचार अभियान थालेका हुन् ।
कार्यक्रममा बोल्दै लामिछानेले अबको लडाइँ कुनै दल वा उम्मेदवारविरुद्ध नभई गरिबी, अशिक्षा, बेरोजगारी र देशका संरचनात्मक समस्याविरुद्ध भएको बताए । उनले चुनावी अभियानका क्रममा कसैलाई गाली नगर्न र गाली आए पनि प्रतिवाद नगर्न कार्यकर्तालाई निर्देशन दिए ।
“अबको जवाफ भाषण होइन, मतदानको दिन मतपत्रमा छाप लगाएर दिने हो,” उनले भने । सभापति लामिछानेले निर्वाचनका क्रममा देशभर जानुपर्ने भएकाले चितवनमा धेरै समय दिन नसक्ने उल्लेख गर्दै चितवनवासीसँग मत दिएर सहयोग गर्न आग्रह गरे ।