रुसको सैन्य गुप्तचर प्रमुख अधिकारीमाथि मस्कोमा गोली प्रहार, अवस्था गम्भीर

२ महिना अगाडि
रुसको सैन्य गुप्तचर प्रमुख अधिकारीमाथि मस्कोमा गोली प्रहार, अवस्था गम्भीर

मस्को । रुसको सैन्य गुप्तचर संस्था जीआरयूका उच्च पदस्थ अधिकारी लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयेभ माथि मस्कोमा गोली प्रहार भएको छ । उत्तर–पश्चिम मस्कोको एक आवासीय अपार्टमेन्ट परिसरमा भएको आक्रमणमा उनी गम्भीर घाइते भएका छन् ।

६४ वर्षीय अलेक्सेयेभलाई गोली लागेपछि तत्काल अस्पताल लगिएको छ । आक्रमणकारी भने घटनास्थलबाट फरार भएको र उसको खोजी जारी रहेको रुसी अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

रुसको अनुसन्धान समिति (एसके) की प्रवक्ता स्वेतलाना पेत्रेन्कोका अनुसार घटनापछि हत्या प्रयाससम्बन्धी मुद्दा दर्ता गरिएको छ। अनुसन्धान टोलीले घटनास्थल वरपरका सीसीटीभी फुटेज जाँच गर्नुका साथै सम्भावित साक्षीहरूसँग बयान लिइरहेको छ। आक्रमण मस्कोको भोलोकोलाम्स्क हाइवे क्षेत्रमा शुक्रबार बिहान भएको बताइएको छ।

घटनास्थल नजिकै बस्ने एक छिमेकीले रायटर समाचार एजेन्सीलाई दिएको बयानमा आफूले “धेरै पटक गोली चलेको आवाज” सुनेको र त्यसपछि एक महिलाले सहयोगका लागि कराएको आवाज आएको बताएकी छन्।

लेफ्टिनेन्ट जनरल अलेक्सेयेभ रुसको जीआरयू सैन्य गुप्तचर निकायका दोस्रो प्रमुख अधिकारी हुन्। सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु भएयता मस्को वा वरपर क्षेत्रमा लक्षित भएका उच्च सैन्य अधिकारीमध्ये उनी पछिल्ला व्यक्ति हुन्।

अलेक्सेयेभले युक्रेन युद्धमा महत्वपूर्ण भूमिका खेलेका थिए। सन् २०२२ मा मारिउपोल सहरमा रुसले घेराबन्दी गर्दा उनले युक्रेनी पक्षसँग वार्तामा सहभागिता जनाएका थिए। यसअघि सिरियाको गृहयुद्धमा रुसको सैन्य हस्तक्षेपमा खेलेको भूमिकाका लागि उनलाई “हिरो अफ रसिया” उपाधि दिइएको थियो।

सन् २०१८ मा बेलायतको सालिसबरीमा गरिएको स्नायु विष आक्रमणमा जीआरयू संलग्न रहेको आरोपपछि अलेक्सेयेभमाथि युरोपेली संघ र बेलायतले प्रतिबन्ध लगाएका थिए। उनी सन् २०२३ मा भएको वाग्नर भाडाका सैनिक समूहका प्रमुख येभगेनी प्रिगोझिनको विद्रोहका बेला वार्ताका लागि पठाइएका अधिकारीमध्ये पनि एक थिए।

जीआरयूका प्रमुख इगोर कोस्त्युकभ हाल युक्रेन र अमेरिकासँग शान्ति वार्ताका लागि रुसको वार्ता टोलीको नेतृत्व गरिरहेका छन्। अबुधाबीमा भएको पछिल्लो वार्ता बिहीबार कुनै ठोस उपलब्धिबिनै सम्पन्न भएको थियो।

घटनापछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनलाई आरोप लगाउँदै यसलाई “वार्ता प्रक्रिया विथोल्ने उद्देश्यले गरिएको आतंकवादी हमला” भनेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाबारे जानकारी दिइँदै गरिएको बताएका छन्।

युक्रेनले घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन। यद्यपि यसअघि रुसका केही उच्च सैन्य अधिकारीमाथि भएका आक्रमणमा युक्रेनी गुप्तचर निकाय संलग्न रहेको दाबी गरिएको थियो।

यसअघि सन् २०२४ मा मस्कोमा अर्का रुसी जनरल इगोर किरीलोभको अपार्टमेन्ट बाहिर विस्फोट गराई हत्या गरिएको थियो। त्यस्तै, सन् २०२५ डिसेम्बरमा जीआरयूका अर्का वरिष्ठ अधिकारी लेफ्टिनेन्ट जनरल फानिल सरवारोभ कारमुनि राखिएको विस्फोटक पदार्थ पड्कँदा मारिएका थिए।