काठमाडौं २४ माघ । बलात्कार आरोप लागेपछि लामो समयदेखि फरार रहेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले अन्तरदेशीय समन्वयमार्फत उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका ठगुन्नालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। उनीविरुद्ध जाजरकोटकी एक युवतीले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी थिइन्।
पीडित युवती गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा न्यायको माग गर्दै अनशनमा बसेकी थिइन्। मुद्दा दर्ता हुँदा उनी करिब तीन महिनाको गर्भवती भइसकेकी थिइन् भने हाल उनी ७ महिनाको गर्भवती अवस्थामा न्यायको प्रतीक्षामा थिइन्।
ठगुन्ना दार्चुला नौगाड गाउँपालिका–२ का स्थायी बासिन्दा हुन् र काठमाडौंको रामशाहपथमा बस्दै आएका थिए। जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए।
यसअघि, २५ मंसिर २०८० मा मुद्दा दर्ता हुँदा प्रहरी सेवामा रहेका ठगुन्ना निलम्बित भएका थिए र अदालतले २ लाख ५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो। पछि पुनः जबरजस्ती करणीको आरोप लागेपछि १० असोजमा अर्को मुद्दा दर्ता भएको थियो। यसबीच, सर्वोच्च अदालतमा सरुवा भएका ठगुन्ना २१ साउनदेखि कार्यालयमा हाजिर नहुँदा कोशी प्रदेश प्रहरी कार्यालयले १४ कात्तिकमा सेवाबाट बर्खास्त गरेको थियो।