मुम्बई २५ माघ । दिउँसो सवा तीन बज्न अझै केही समय बाँकी छ । तर मुम्बईको वाङ्खडे स्टेडियम वरिपरि भने त्यसअघिनै “गो नेपाल” को स्वर गुञ्जिन थालिसकेको छ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज इंग्ल्याण्डविरुद्ध हुने नेपाल–इंग्ल्याण्ड खेलले प्रवासी नेपालीहरूको भावनालाई एक ठाउँमा बाँधिदिएको छ ।
हातमा नेपाली झण्डा, शरीरमा रातो जर्सी र आँखामा जितको सपना बोकेका समर्थकहरू खेल सुरु हुनुअघि नै स्टेडियममा पुगेका छन् । कोही काम सकेर सिधै स्टेडियम आएका छन् भने कोही बिहानैदेखि नेपालकै खेलको प्रतीक्षामा मुम्बईका सडक चहारिरहेका छन् । उनीहरूका लागि आजको खेल केवल क्रिकेट मात्र होइन, पहिचान र गर्वको विषय पनि हो ।
शनिबारदेखि सुरु भएको विश्वकपको पहिलो दिन नै एशोसिएट टोलीहरूले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएपछि नेपाली समर्थकहरूको आत्मविश्वास झनै बढेको छ । “यदि अरूले सक्छन् भने नेपालले किन सक्दैन ?भन्ने भावना समर्थकहरूको अनुहारमा प्रष्ट देखिन्छ ।
आजको पहिलो खेल न्युजिल्याण्ड र अफगानिस्तानबीच सम्पन्न भइसकेको छ । त्यसपछि हुने नेपाल–इंग्ल्याण्ड भिडन्तलाई दर्शकहरूले विशेष चासोका साथ हेरिरहेका छन् । बलियो मानिने इंग्ल्याण्डविरुद्ध मैदान उत्रँदा दबाब भए पनि नेपाली टोलीबाट साहसी र अनुशासित खेलको अपेक्षा गरिएको छ ।
नेपालको खेल आज दिउँसो सवा ३ बजे वाङ्खडे स्टेडियममा सुरु हुँदैछ । नतिजा जे आए पनि, विश्व क्रिकेटको ठूलो मञ्चमा नेपालको उपस्थितिले नेपाली समर्थकहरूलाई एकै स्वरमा भन्न बाध्य बनाएको छ । आज वाङ्खडेमा खेल्ने टोली नेपाल मात्र होइन, लाखौं नेपालीको सपना हो।