भावी रणनीति तय गर्न प्रहरीमा रणनीतिक सम्मेलन सुरु

२ महिना अगाडि
भावी रणनीति तय गर्न प्रहरीमा रणनीतिक सम्मेलन सुरु

ठमाडौं २५ माघ। प्रहरी सेवाको कामकारबाहीलाई समयसापेक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यसहित ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन २०८२ सुरु गरिएको छ । दुई दिने सम्मेलन प्रहरीको भावी रणनीति, नीति निर्माण प्रक्रिया र सेवा प्रवाह सुधारमा केन्द्रित छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित उद्घाटन समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयाममा नागरिक समाज, सुरक्षा विज्ञ तथा सरोकारवाला निकायसँग गरिने रणनीतिक अन्तरक्रियालाई सकारात्मक पहलका रूपमा उल्लेख गरे । उनले जनअपेक्षा अनुरूप प्रहरी सेवाको स्वरूप तय गर्न नागरिक तहको सहभागिता र अपनत्व अपरिहार्य रहेको बताए ।

सम्मेलनमा अनुसन्धान तथा विकास निर्देशनालयद्वारा तयार गरिएका सामाजिक सञ्जालको प्रयोग र साइबर अपराधबीचको सम्बन्ध, नेपाल प्रहरीमा विद्यमान पोशाकको प्रयोग तथा परिमार्जन, साथै ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह र आचरणसम्बन्धी तीन अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका चुनौती समाधानका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संविधान, प्रहरी ऐन र प्रचलित कानुन अनुरूप शान्ति सुरक्षा कायम गर्दै मानव अधिकारको संरक्षणसहित व्यावसायिक र जनउत्तरदायी प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पारे ।