देशले जित्ने चुनाव’ भन्दै रवि लामिछानेको रूपन्देहीबाट चुनावी अभियान

२ महिना अगाडि
देशले जित्ने चुनाव’ भन्दै रवि लामिछानेको रूपन्देहीबाट चुनावी अभियान

बुटवल २६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन दल वा नेताको भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । रूपन्देही क्षेत्र नम्बर १ अन्तर्गत देवदह खैरेनीमा आयोजित ‘जनसम्पर्क’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले परम्परागत राजनीतिक अभ्यासप्रति प्रश्न उठाउँदै यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘दल र नेताले धेरैपटक जिते, तर अब देशले जित्नुपर्छ,’लामिछानेले भने । उनले रास्वपाले पदको बाँडफाँट होइन, जिम्मेवारीको स्पष्ट विभाजन गरेको दाबी गर्दै पार्टीभित्र एकता र कार्यक्षमतामा जोड दिए । बालेन्द्र शाह (बालेन) पक्षको टिम समाहित भएको प्रसंग उल्लेख गर्दै उनले आगामी पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र स्थिर सरकार रहने दाबी गरे ।

लामिछानेले घोषणापत्रभन्दा काममा विश्वास गर्ने नीति रहेको बताउँदै विगतमा अन्य दलले गर्न नसकेका काम रास्वपाले पूरा गर्ने प्रतिबद्धता जनाए ।

देवदहबाट सुरु भएको रूपन्देही जिल्ला स्तरीय चुनावी अभियान साँझ लुम्बिनी पुगेर समापन हुने छ । रास्वपाका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गरिनेछ । अभियानका क्रममा समय अभावका कारण २६ स्थानमा संक्षिप्त उपस्थितिमार्फत सभापति लामिछानेले समर्थकलाई अभिवादन गर्ने कार्यक्रम तय गरिएको छ ।