कोइलाखानी विस्फोटः शव नेपाल ल्याउन सकस

२ महिना अगाडि
कोइलाखानी विस्फोटः शव नेपाल ल्याउन सकस

काठमाडौँ २६ माघ । भारतको मेघालय राज्यमा अवैध रूपमा सञ्चालन भइरहेको कोइलाखानीमा भएको विस्फोटमा ज्यान गुमाएका खोटाङका तीन युवाको शव नेपाल ल्याउन समस्या भएको छ। माघ २२ गते भएको विस्फोटमा खोटाङको बरापोखरी गाउँपालिका–१ का पूर्णिराम खपाङ्गी मगर, सुरेन्द्र खपाङ्गी मगर र नरबहादुर खपाङ्गी मगरको ज्यान गएको हो।

विस्फोटपछि हलेसी तुवाचुङ नगरपालिका निवासी रत्न राई अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको स्थानीय स्रोतले जनाएको छ।

ज्यान गुमाएका युवाहरूको शव मेघालयबाट नेपाल ल्याउन आर्थिक र प्रशासनिक जटिलता देखिएको मृतकका परिवारजनले बताएका छन्। आवश्यक कागजात, भारतीय प्रशासनसँगको प्रक्रिया तथा शव ढुवानी खर्च जुटाउन समस्या भएको उनीहरूको गुनासो छ। परिवारजनले नेपाल सरकार र सम्बन्धित निकायसँग शव यथाशीघ्र नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन्।