भ्रष्टाचार नियन्त्रणमा नयाँ चुनौती : अख्तियार

२ महिना अगाडि
भ्रष्टाचार नियन्त्रणमा नयाँ चुनौती : अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका प्रवृत्तिहरू बदलिँदै जाँदा नियन्त्रणका प्रयासमा नयाँ चुनौती थपिएको जनाएको छ ।

आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको स्वरूप आधुनिक र जटिल बन्दै गएको उल्लेख गर्दै त्यसअनुसार नियन्त्रणका उपाय र संरचनामा पनि सुधार आवश्यक रहेको बताए ।

पछिल्ला पाँच वर्षमा १ लाख ४८ हजार ५ सय उजुरी दर्ता भएकोमा १ लाख ७ हजार ९ सय १५ उजुरी फछ्र्योट गरिएको छ, जुन ७२.८ प्रतिशत हो । गत आर्थिक वर्षमा १३७ र चालू वर्षमा ९४ वटा मुद्दा दायर गरिएको तथ्यांक आयोगले सार्वजनिक गरेको छ । 

त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त कानुनी तथा संस्थागत संरचना रहे पनि प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएकी छन् । उनले भ्रष्टाचार नियन्त्रणको मूल जिम्मेवारी कार्यकारी अंगकै भएको स्पष्ट पारिन् ।

सुधारको अपेक्षा राखेर बाह्य निकायमा मात्र भर पर्नु उपयुक्त नहुने उनको भनाइ थियो । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको र सुशासनका लागि मार्गचित्र तयार पार्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन् ।