काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेतृत्व अहिले फरक-फरक भूगोलमा चुनावी अभियानमा सक्रिय देखिएका छन् । पार्टी सभापति रवि लामिछाने पोखरा केन्द्रित कार्यक्रम लिएर कास्की पुगेका छन् भने वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह मधेश अभियानमा जुटेका छन् ।
सभापति लामिछानेले पोखराको तालचोक, हेम्जा र चिप्लेढुंगामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएका छन् । स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणसँग उनले प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचन, सुशासनको एजेन्डा र पार्टीको धारणा प्रस्तुत गरेका छन् । उनले “न्यायिक प्रक्रिया चलिरहेकै अवस्थामा पनि जनताको बीचमा जानु मेरो दायित्व हो,” भन्ने सन्देश दिएका छन् ।
उनको बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित हुने उनको कार्यक्रम रहेको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ । वरिष्ठ नेता बालेन शाह भने मधेशको चुनावी अभियानमा छन् । त्यसभेगमा पार्टीको संगठन विस्तार, युवा मतदाता केन्द्रित कार्यक्रम र स्थानीय मुद्दामाथि केन्द्रित संवादलाई प्राथमिकता दिइएको बताइएको छ ।
यी दुई नेताले पहिलो संयुक्त चुनावी सभा कैलालीमा गर्ने तयारी गरिएको जनाइएको छ, जहाँ पार्टीका शीर्ष नेताहरू एउटै मञ्चमा देखिने कार्यक्रम छ । यसलाई पार्टीले देशव्यापी अभियानको औपचारिक सन्देश दिने अवसरका रूपमा लिएको छ ।