निर्वाचन विशेष

सर्लाही–२ : प्रतीक्षा फागुन २१

२ महिना अगाडि
सर्लाही–२ : प्रतीक्षा फागुन २१

सर्लाही । सर्लाही क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा), मधेस केन्द्रित दल र परम्परागत राजनीतिक शक्ति र नयाँ दलबीच कडा प्रतिस्पर्धा देखिएको छ । सदरमुकाम मंलगवा नगरपालिकाका केही वडा तथा ८ स्थानीय तहका वडाहरू समेटिएको यो क्षेत्र राजनीतिक रूपमा सधैं संवेदनशील मानिँदै आएको छ ।

यस निर्वाचन क्षेत्रमा हाल १,२५,३११ मतदाता रहेका छन् । २०७९ सालको निर्वाचनमा यहाँ १,१६,२२३ मतदाता थिए । यसपटक ९,०८८ मतदाता थपिनु ले चुनावी समीकरण थप रोचक बनेको छ ।

यस क्षेत्रमा १४ राजनीतिक दल र १७ स्वतन्त्र उम्मेदवार गरी ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जसपा नेपाल, नेपाली कांग्रेस, एमाले, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बीच प्रतिस्पर्धा केन्द्रित देखिन्छ ।

को–को उम्मेदवार प्रतिस्पर्धामा ?

• एमाले — नागेश्वर साह
• कांग्रेस — सरोज कुमार
• नेपाली कम्युनिष्ट पार्टी (नेकपा) — महिन्द्रराय यादव 
• रास्वपा — रविन महतो
• राप्रपा — राज किशोर राय यादव
• जसपा नेपाल — भरत चौधरी
• जनमत पार्टी — विपिन कापर

यसका अतिरिक्त प्रगतिशील लोकतान्त्रिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपालका लागि नेपाली पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, आम जनता पार्टी लगायत दल तथा स्वतन्त्र उम्मेदवार पनि आ–आफ्ना प्रभाव क्षेत्र बनाउने प्रयासमा छन् ।

उम्मेदवार परिचय
नागेश्वर साह : एमालेका परम्परागत मतका दावेदार

नागेश्वर साह नेकपा (एमाले) का उम्मेदवार हुन् । विकास, स्थायित्व र पार्टी संगठनलाई मुख्य एजेन्डा बनाएर उनी चुनावी मैदानमा उत्रिएका छन् । एमालेको परम्परागत मत आधार समेट्ने रणनीतिमा उनी देखिन्छन् ।

सरोज कुमार : कांग्रेसको संगठनात्मक चुनौती

सरोज कुमार नेपाली कांग्रेसका उम्मेदवार हुन् । लोकतान्त्रिक मूल्य, स्थानीय विकास र सामाजिक न्यायका मुद्दालाई अघि सार्दै उनी कांग्रेसको पुरानो संगठनात्मक सञ्जाललाई सक्रिय बनाउने प्रयासमा छन् ।

महिन्द्रराय यादव : वामपन्थी बल ! 

महिन्द्रराय यादव नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हुन् । २०७९ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट विजयी भइसकेका यादव वामपन्थी एकीकरणपछि बनेको नेकपाबाट पुनः मैदानमा उत्रिएका छन् । सामाजिक न्याय, समावेशिता र मधेसका वर्गीय मुद्दालाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउँदै उनी वाम मत एकीकृत गर्ने प्रयासमा छन् ।

रविन महतो : रास्वपाको नयाँ पुस्ता

रविन महतो राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् । सुशासन, पारदर्शिता र जवाफदेहितालाई मुख्य मुद्दा बनाएर उनी नयाँ पुस्ता र परम्परागत राजनीतिप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्ने प्रयासमा छन् ।

राज किशोर राय यादव : राप्रपाको वैचारिक राजनीति

राज किशोर राय यादव राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन् । राष्ट्रवाद, धर्म, संस्कृति र परम्परागत मूल्यको संरक्षण उनका प्रमुख राजनीतिक एजेन्डा हुन् ।

भरत चौधरी : जसपा नेपालको मधेस केन्द्रित एजेन्डा

भरत चौधरी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार हुन् । मधेस आन्दोलन, पहिचान, समान अधिकार र संघीयताको प्रभावकारी कार्यान्वयनका मुद्दामा उनी सक्रिय रहँदै आएका छन् ।

विपिन कापर : जनमतको वैकल्पिक दाबी

विपिन कापर जनमत पार्टीका उम्मेदवार हुन् । वैकल्पिक राजनीति, युवामुखी एजेन्डा र सुशासनलाई प्राथमिकता दिँदै उनी परम्परागत दलप्रतिको असन्तुष्टिलाई मतमा बदल्ने प्रयासमा छन् ।

पूर्वमन्त्री राजेन्द्र महतो : सर्लाही–२ को निर्णायक राजनीतिक पृष्ठभूमि

राजेन्द्र महतो पूर्व उपप्रधानमन्त्री एवं उद्योग मन्त्री हुन् । मधेस आन्दोलन, पहिचान, संघीयता र समान अधिकारका मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएका महतो मधेस राजनीतिका प्रभावशाली पात्र मानिन्छन् ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ बाट उम्मेदवार बनेका महतो २१,५१८ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे । यद्यपि उनी पराजित भए पनि, सर्लाही–२ मा रहेको उनको संगठनात्मक पकड र मत आधार यसपटक पनि चुनावी गणितमा प्रभाव पार्ने महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ । उनी नयाँ दल राष्ट्रिय मुक्ति पार्टी खोलेर मैदानमा उत्रिएका छन् । 

२०७९ सालको निर्वाचन परिणाम
प्रत्यक्षतर्फ

• नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — महिन्द्रराय यादव : २३,५२९ मत (विजयी)
• लोसपा — राजेन्द्र महतो : २१,५१८ मत
• एमाले — राज नारायण साह : १४,८१९ मत
• जनमत — नरेशप्रसाद कुशवाहा : ६,५५४ मत

समानुपातिकतर्फ

• कांग्रेस — १४,९९३
• जनमत — १२,३३७
• लोसपा — ११,०४३
• माओवादी केन्द्र — १०,८५९
• जसपा नेपाल — ७,५३३
• एमाले — ५,९३४
• संघीय समाजवादी — १,९७४
• रास्वपा — १,०५७

राजनीतिक समीकरण

सर्लाही–२ मा यसपटक २०७९ का विजेता महिन्द्रराय यादव नेतृत्वको वाम मत, जसपा–जनमत–कांग्रेसको मधेस केन्द्रित प्रतिस्पर्धा, र पूर्वमन्त्री राजेन्द्र महतोको मत आधारको सम्भावित स्थानान्तरण मुख्य राजनीतिक समीकरणका केन्द्रमा छन् ।

नयाँ मतदाता थपिनु, नेकपा (तारा) को एकीकृत प्रभाव, तथा स्वतन्त्र उम्मेदवारको उपस्थितिले परिणाम अनुमान गर्न चुनौतीपूर्ण बनाएको छ ।

यस निर्वाचनको नतिजाले सर्लाही–२ मात्र होइन, मधेसमा वाम एकीकरणको प्रभावकारिता र मधेस केन्द्रित दलहरूको वास्तविक शक्ति सन्तुलन बारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ ।