राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

२ महिना अगाडि
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं २९ माघ। राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसका आधारमा अधिवेशन अन्त्य गरिएको उल्लेख छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र हालका लागि राष्ट्रिय सभामा छलफल तथा निर्णयका लागि कुनै महत्वपूर्ण विधेयक वा कार्यसूची नरहेकाले सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

चालु अधिवेशनका क्रममा राष्ट्रिय सभाले केही महत्वपूर्ण विधेयकहरू पारित गरेको छ। यस अवधिमा पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएका छन् भने सामाजिक सञ्जाल विधेयक २०८१ भने फिर्ता गरिएको छ। यी विधेयकहरू पारित भएसँगै सम्बन्धित क्षेत्रको नीति तथा व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।

सरकारले आगामी निर्वाचन र त्यससँग सम्बन्धित तयारीलाई ध्यानमा राख्दै अधिवेशन अन्त्य गरेको बताइएको छ। राष्ट्रिय सभाको अर्को अधिवेशन आवश्यकताअनुसार आह्वान गरिने जनाइएको छ।