काठमाडौं २९ माघ । टी–२० विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपाल इटलीसँग भिड्दैछ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र इटलीबीच यो पहिलो भेट हो। इटलीका लागि यो पहिलो टी–२० विश्वकप हो भने नेपाल तेस्रोपटक विश्वकप खेल्दैछ।
अघिल्लो संस्करणमा जितविहीन रहँदै फर्किएको नेपाल यसपटक भने खाली हात फर्किन चाहँदैन। समूहकै सबैभन्दा कमजोर आँकिएको इटलीविरुद्ध आजको खेललाई नेपालले ‘जित्नैपर्ने’ अवसरका रूपमा हेरेको छ। जित हात पार्न सके नेपालले महत्वपूर्ण दुई अंक जोड्नेछ भने हार नेपालका लागि ठूलो झट्का हुनेछ।
टी–२० विश्व वरीयतामा नेपाल १६औँ स्थानमा छ भने इटली २६औँ स्थानमा रहेको छ। वरीयतामा पछि भए पनि इटलीलाई हल्का रूपमा लिने अवस्था भने छैन। युरोप क्षेत्रीय छनोटमा स्कटल्यान्डलाई हराउँदै इटलीले विश्वकप यात्रा तय गरेको हो। इटली टोलीमा अष्ट्रेलिया, इंग्ल्यान्ड, साउथ अफ्रिका, श्रीलंका र पाकिस्तानजस्ता टेस्ट राष्ट्रमा खेलेका अनुभवी खेलाडीहरू छन्। यद्यपि, कप्तान वेन म्याडेसन चोटका कारण आजको खेलमा अनुपस्थित रहनेछन्।
विश्वकप डेब्यू खेलमा स्कटल्यान्डविरुद्ध इटली १३४ रनमै अलआउट भएको थियो। तर, उक्त प्रदर्शनकै आधारमा इटलीलाई कमजोर ठान्न नमिल्ने नेपाली टोलीको बुझाइ छ। ह्यारी र बेन मेनेटी, जेजे स्मट्स, ग्रान्ट स्टेवर्ट र जसप्रित सिंहजस्ता खेलाडी नेपालका लागि चुनौती बन्न सक्छन्।
नेपाली टोली भने हाल उच्च आत्मविश्वासमा छ। पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध देखाएको साहसी प्रदर्शनले विश्व क्रिकेटको ध्यान तानेको थियो। त्यसले टोलीको मनोबल थप बलियो बनेको छ।
आजको खेलमा नेपालमाथि जितको दबाब छ भने इटली दबाबमुक्त देखिन्छ। बलिङ संयोजन र स्पिनर छनोटमा केही रणनीतिक निर्णय गर्नुपर्ने भए पनि नेपालले आक्रामक र सन्तुलित खेल देखाउने अपेक्षा गरिएको छ। आजको खेलले नेपालको विश्वकप यात्राको दिशा निर्धारण गर्ने विश्वास गरिएको छ।