भारतले नेपाललाई निर्वाचनका लागि दियो तेस्रो खेपको सहयोग

२ महिना अगाडि
भारतले नेपाललाई निर्वाचनका लागि दियो तेस्रो खेपको सहयोग

काठमाडौं । आगामी निर्वाचनका लागि भारत सरकारले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपलब्ध गराएको छ । काठमाडौंस्थित गृह मन्त्रालयमा बिहीवार आयोजित एक समारोहका बीच भारतीय राजदुत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई २ सय ७० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । 

नेपाल सरकारले आगामी निर्वाचनको तयारीका लागि खोजेको सहयोग अनुरूप भारतले यो सामग्री उपलब्ध गराएको हो । हस्तान्तरण गरिएका सामग्रीहरूमध्ये नेपाली सेनाका लागि ५० वटा ट्रकहरू रहेका छन् । जुन प्रधान सेनापति महारथी अशोकराज सिग्देलले राजदुत श्रीवास्तवबाट ग्रहण गरे ।

सहयोग ग्रहण गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले समयमै उपलब्ध गराइएको यो महत्वपूर्ण सहयोगका लागि भारतीय पक्षलाई धन्यवाद दिए । उनले नेपाल र भारतबीचको सम्बन्ध आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको साझा प्रतिवद्धताद्वारा निर्देशित रहेको उल्लेख गर्दै दुई देशबीचको बृहत् सहकार्यको प्रशंसा गरे । 

भारतले यसअघि नै पहिलो र दोस्रो खेपमा गरी ३१० भन्दा बढी सवारी साधन र अन्य सामग्रीहरू क्रमशः माघ ६ र माघ १५ गते हस्तान्तरण गरिसकेको छ । भारतीय राजदुतावासकाअनुसार थप सहयोगहरू आगामी दिनहरूमा विभिन्न चरणमा उपलब्ध गराइनेछ । यो सहकार्यले दुई देशबीचको बहुआयामिक विकास साझेदारी र जनताबीचको गहिरो सम्बन्धलाई झल्काएको छ ।