अफ्रिकी संघको जल सुरक्षा एजेण्डा, एकता र राजनीतिक स्थायित्वमा केन्द्रित

२ महिना अगाडि
अफ्रिकी संघको जल सुरक्षा एजेण्डा, एकता र राजनीतिक स्थायित्वमा केन्द्रित

अबाब । इथियोपियाको राजधानी अडिस अबाबास्थित अफ्रिकी संघ (एयू) मुख्यालयमा कार्यकारी परिषद्को ४८औँ साधारण सत्र सुरु भएको छ। ३९औँ एयू शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित दुई दिने यस बैठकमा सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरू सहभागी छन्। बैठकले आगामी फेब्रुअरी १४–१५ मा हुने राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको शिखर सम्मेलनका लागि कार्यसूची तय गर्नेछ।

यसपटकको मुख्य एजेण्डा ‘एजेण्डा २०६३’ का लक्ष्य हासिल गर्न दिगो जल उपलब्धता र सुरक्षित सरसफाइ प्रणाली सुनिश्चित गर्ने’ रहेको छ। अफ्रिकी संघले जल संकटलाई अब केवल पूर्वाधारको अभावका रूपमा नभई विकास, स्वास्थ्य, जलवायु परिवर्तन र क्षेत्रीय स्थायित्वसँग प्रत्यक्ष जोडिएको बहुआयामिक चुनौतीका रूपमा उठाएको देखिन्छ।
जल सुरक्षा : विकास र एकताको आधार
उद्घाटन सत्रमा एयू आयोगका अध्यक्ष महमुद अली युसुफले पानी र सरसफाइलाई सबै देशका लागि साझा स्रोत र साझा जिम्मेवारीका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिए। उनका अनुसार जल स्रोतको व्यवस्थापन केवल दैनिक जीवनका लागि आवश्यक सेवा मात्र होइन, क्षेत्रीय सहकार्य र शान्तिको आधारसमेत बन्न सक्छ।

अफ्रिकी महादेशका धेरै देशहरूमा सुरक्षित खानेपानी र सरसफाइ अझै पनि ठूलो चुनौतीको रूपमा छ। जलवायु परिवर्तनका कारण बढ्दो खडेरी, बाढी र मरुभूमीकरणले जल सुरक्षालाई थप जटिल बनाइरहेको छ। यस्तो अवस्थामा एयूले जल एजेण्डालाई विकासको केन्द्रीय विषय बनाउनु आफैंमा रणनीतिक संकेत मानिएको छ।

राजनीतिक सन्देश : असंवैधानिक परिवर्तनप्रति चिन्ता
बैठकले विकाससँगै राजनीतिक स्थायित्व र सुशासनलाई पनि प्राथमिकतामा राखेको छ। अध्यक्ष युसुफले गिनि र गेबोनको संघमा पुनरागमनको स्वागत गरे भने म्याडागास्कर र गिनी–बिसाउमा भएको असंवैधानिक सत्ता परिवर्तनप्रति चिन्ता व्यक्त गरे।

यसले एयूले लोकतान्त्रिक मान्यता र संवैधानिक व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको संकेत गर्छ। पछिल्ला वर्षहरूमा अफ्रिकी महादेशका केही देशहरूमा सैनिक कू वा अस्थिर राजनीतिक अवस्थाले क्षेत्रीय सुरक्षामा प्रभाव पारेको सन्दर्भमा कार्यकारी परिषद्को छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

क्षेत्रीय एकीकरण र एएफसीएफटीए
इथियोपियाका विदेशमन्त्री गेडियन टिमोटियोसले सामूहिक सुरक्षा र समृद्धिका लागि एकताको महत्वमा जोड दिँदै सन् २०२५ मा अफ्रिकी महादेशीय मुक्त व्यापार क्षेत्रमार्फत क्षेत्रीय एकीकरण थप बलियो हुँदै गएको बताए।

आन्तरिक व्यापार वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जनामा यसले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ। जल सुरक्षा र पूर्वाधार विकासजस्ता विषयहरू आर्थिक एकीकरणसँग प्रत्यक्ष रूपमा जोडिएका छन्।

जी–२० सहभागिता र कूटनीतिक आयाम
बैठकले जी–२० मा अफ्रिकी संघको सहभागितालगायत अन्तर्राष्ट्रिय मञ्चमा महादेशको भूमिकाबारे पनि छलफल गर्नेछ। जी–२० मा एयूको स्थायी सदस्यतापछि अफ्रिकी मुद्दाहरू—विशेषतः जलवायु वित्त, ऋण पुनर्संरचना र दिगो विकास—लाई विश्वस्तरमा उठाउने अवसर बढेको विश्लेषण गरिएको छ।

अफ्रिकी संघको कार्यकारी परिषद्को यस बैठकले जल सुरक्षालाई विकास, एकता र शान्तिसँग जोडेर प्रस्तुत गरेको छ। साथै, राजनीतिक स्थायित्व, क्षेत्रीय एकीकरण र अन्तर्राष्ट्रिय कूटनीतिक उपस्थितिलाई समानान्तर रूपमा अघि बढाउने संकेत दिएको छ।

आगामी शिखर सम्मेलनले यी एजेण्डालाई कति ठोस कार्ययोजनामा रूपान्तरण गर्छ, त्यसले एयूको आगामी दिशालाई निर्धारण गर्नेछ।